Banner news

सीमा स्तम्भ मर्मत सम्भारबारे बिर्तामोडमा नेपाल–भारतको संयुक्त बैठक

सीमा स्तम्भ मर्मत सम्भारबारे बिर्तामोडमा नेपाल–भारतको संयुक्त बैठक


बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरुबिच सीमा स्तम्भ मर्मत सम्भारको विषयमा समीक्षा भएको छ । शुक्रवार बिर्तामोडको होटल किङ्सबरीमा दुई देशका अधिकारीहरुबिच मर्मत सम्भारको प्रगति बारे समीक्षा भएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

नेपाल र भारतबिच रहेको सीमा स्तम्भ मर्मत र सम्भारका विषय बैठकमा छलफल भएको प्रजिअ गेलालले बताए । उनका अनुसार हालसम्म भएको प्रगति र आगामी दिनमा गर्नुपर्ने मर्मत सम्भारको विषयमा आवश्यक छलफल भएको हो । सीमा क्षेत्रमा मर्मत सम्भारको काम धेरै नै बाँकी रहेको उनको भनाई थियो ।

बैठकमा पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङको भारतसँग जोडिएको सीमाका बारेमा छलफल भएको थियो । सीमामा रहेका पिल्लरहरुको अवस्था के कति मर्मत भएका छन् भन्ने विषयमा दुवै देशका अधिकारीहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले अर्को आर्थिक वर्षमा बाँकी मर्मत सम्भारको काम सम्पन्न गर्ने बताएका थिए ।
फिल्डमा खटिएका टीमहरुले ३ महिनाको अवधिमा निर्माण र मर्मत गरेका पिल्लरका बारेमा बैठकमा विवरण प्रस्तुत गरिएको थियो । प्रजिअ गेलालले सीमा सुरक्षाका बिषयमा दुई देशका अधिकारीहरुबिच नियमित रुपमा संयुक्त बैठक बस्दै आएको जानकारी दिए ।

बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी गेलाल, सहायक प्रमुख जिल्ला अधिकारीहरु तेजप्रकाश प्रसाईं, अन्जन न्यौपाने, झापा जिल्लाका नापी अधिकृत शिवप्रसाद लम्साल, झापाका डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, इलाम, पाँचथर र ताप्लेजुङका प्रशासन र प्रहरी, वन र नापी प्रमुखहरु सहभागी रहेका थिए ।

त्यस्तै, सीमा सम्बन्धी भारतीय उच्च अधिकारीहरु पनि सहभागी रहेका थिए । भारत बिहार राज्य किसनगञ्ज जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट विशाल राज, एसएसबीका १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, एसएसबीका ३६औँ बटालियन कमान्डेन्ट सञ्जीव कुमार, आठौँ बटालियनका कमान्डेन्ट वसन्त सामी, सर्वेक्षक अधिकृत सन्तोष प्रसाद, सर्वेक्षक अधिकृत हिमाद्री शेखर चक्रवर्तीलगायतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares