झापा, जेठ ३० । झापाको बिर्तामोड–१ स्थित क्रिएटिभ आइडियल्स एकेडेमीमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गर्ने उद्देश्यले सीआईए (क्रिएटिभ आइडियल्स एकेडेमी) निर्वाचन सम्पन्न गरिएको छ । विद्यालय परिसरमा सम्पन्न निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यार्थीमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको निर्वाचनमा मुख्य छात्र, मुख्य छात्रा, छात्र प्रिफेक्ट तथा छात्रा प्रिफेक्ट पदका लागि प्रतिस्पर्धा भएको थियो । निर्वाचन प्रक्रियामा विद्यालयले पारदर्शिता र निष्पक्षतालाई प्राथमिकता दिएको जनाएको छ ।

शुक्रवार भएको निवाृचनमा मतदानका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो भने एउटा मतपेटिकामार्फत मतदान प्रक्रिया सञ्चालन गरिएको थियो । निर्वाचनमा कुल १३८ मत खसेको निर्वाचन समितिले जनाएको छ । खसेका मतमध्ये कुनै पनि मत बदर नभएको जनाइएको छ, जसलाई विद्यार्थीको सचेत र जिम्मेवार सहभागिताका रूपमा लिइएको छ ।
चारवटा पदका लागि कुल १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मतगणनापछि मुख्य छात्र पदमा सलमान अली खान ६८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । मुख्य छात्रा पदमा प्रस्ना गिरीले ६८ मत प्राप्त गरी विजय हासिल गरिन् ।
त्यस्तै, छात्र प्रिफेक्ट पदमा बिश्वराज दाहाल ४६ मतसहित निर्वाचित भए भने छात्रा प्रिफेक्ट पदमा जीनत प्रविन ६९ मत प्राप्त गर्दै विजयी भइन् । विजयी उम्मेदवारहरूले विद्यार्थीका समस्या समाधान, अनुशासन कायम राख्ने तथा विद्यालयका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचनलाई व्यवस्थित बनाउन विद्यार्थीकै सहभागितामा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन आयुक्तको जिम्मेवारी राफिया खातुनले सम्हालेकी थिइन् भने मतदान अधिकृतको भूमिका तुलासा गुरुङले निर्वाह गरेकी थिइन् । मतदाता नामावली परीक्षणको जिम्मेवारी मो. साहिल आलम र आलिया एजाज अन्सारीलाई दिइएको थियो । मतदानपछि मसी लगाउने कार्य प्रफुल प्याकुरेलले गरेका थिए ।
मतगणनाको जिम्मेवारी सहायक प्रधानाध्यापक नवराज खरेल, शिक्षक विमला दंगाल, शिक्षक आज्ञा कट्टेल तथा विद्यार्थी प्रतिनिधि अरेफा परविन र फैजान इलाहीले निर्वाह गरेका थिए। निर्वाचन प्रक्रियाको पर्यवेक्षण चाँद मोहम्मद, मोहम्मद इस्लाम अन्सारी , पत्रकार सुरेन्द्र भण्डारी र पुष्पा भण्डारीले गरेका थिए ।
विद्यालयका संस्थापक तथा निर्देशक एजाज अहमद अन्सारीले विद्यालय शिक्षाले पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक जीवनका लागि आवश्यक सीप र मूल्य पनि प्रदान गर्नुपर्ने बताए । विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रिया प्रत्यक्ष अनुभव गराउने उद्देश्यले निर्वाचन आयोजना गरिएको उनको भनाइ थियो ।
प्रधानाध्यापक धनञ्जय रिमालले विद्यार्थी नेतृत्व चयनको अभ्यासले आत्मविश्वास वृद्धि गर्नुका साथै उत्तरदायित्वबोधको विकास गर्ने विश्वास व्यक्त गरे । यस्ता गतिविधिले भावी नेतृत्व उत्पादनमा सकारात्मक योगदान पुग्ने उनको धारणा थियो ।
विद्यालय तहमा सञ्चालन हुने यस्ता निर्वाचनले विद्यार्थीलाई मतदानको महत्तव, नेतृत्व चयनको प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासका आधारभूत पक्षबारे व्यावहारिक ज्ञान प्रदान गर्ने शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ ।
क्रिएटिभ आइडियल्स एकेडेमीले विगतदेखि नै शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको छ । यस वर्षको सीआईए निर्वाचनले विद्यार्थीमा नेतृत्व विकासको अवसर प्रदान गर्नुका साथै विद्यालयभित्र सहकार्य, प्रतिस्पर्धा र जिम्मेवारीको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयको विश्वास छ ।







प्रतिक्रिया