Banner news

बुद्धशान्तिकी सिमरन जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम

बुद्धशान्तिकी सिमरन जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम


बिर्तामोड । झापा बुद्धशान्तिकी सिमरन पौडेल जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएकी छन् । पौडेलले प्रथम भएर नगद ७० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

बिर्तामोडको निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको झापा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा बुद्धशान्तिको सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत पौडेल प्रथम भएकी हुन् ।

त्यस्तै, भद्रपुरको वीरेन्द्र माविकी छात्रा सफलता फुयल दोस्रो भइन् । उनले नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् । स्कुलचौन मावि गौरादहका यमन न्यौपाने तेस्रो भए । उनले नगद ३० हजार रुपैयाँ र प्रमाणपत्र पाए ।
प्रतियोगितामा सहभागी अन्य १२ जना प्रतियोगीलाई सन्त्वाना पुरस्कारस्वरुप जनही सात हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । हल्दिबारी माविकी आयुष्मा न्यौपाने, लक्ष्मीनारायण मावि शिवसताक्षीकी ओती आङदेम्बे, डोरामारी मावि गौरादहकी जेनिसा लुइँटेलले सन्त्वाना पुरस्कार पाए ।

त्यस्तै, सरस्वती मावि भद्रपुरकी नाभिया श्रेष्ठ, मदन आश्रित मावि कमलकी निशा योञ्जन तामाङ, सरस्वती बालकल्याण मावि मेचीनगरका रमेश अधिकारी, जनता मावि झापाकी लोला तामाङले पनि सन्त्वाना पुरस्कार पाए ।
सिंहदेवी मावि कनकाईकी विनिसा पौडेल, ज्यामिरगढी मावि मेचीनगरकी सचिका राजवंशी, कविशिरोमणि मावि मेचीनगरका साजन मगर, शान्ति आदर्श मावि रोङका सुमित तिम्सिना र सिंहदेवी माविकी सुस्मिता खतिवडाले पनि सन्त्वाना पुरस्कार पाए ।

वर्तमान अशान्त विश्वमा बुद्धका उपदेशको सान्दर्भिकता विषयमा सहभागीहरुलाई निबन्ध लेख्न लगाइएको थियो । प्रतियोगिता दुई चरणमा भएको थियो । उनीहरुलाई आज बिर्तामोडमा पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर रेशबहादुर बस्नेत, वरिष्ठ अधिवक्ता लीला उदासी, सहित्यकार पुण्य खरेल, प्राध्यापक डाक्टर सन्ध्या बस्नेत, प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी, मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिष्ठानका संरक्षक विष्णु भेटवालले छोरी निताको अन्तिम इच्छाअनुरुप नै अतिविपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययनमा समेत सहयोग गर्दै आएको जानकारी दिए ।

उनले विपन्न परिवारका पढ्न चाहेर पनि नसकेका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोग साथै अगाडि पढ्ने भए थप समन्वय गर्ने र गरिँदै आएको बताए ।

ब्रेन ट्युमरका कारण अकालमा ज्यान गुमाएकी छोरीको स्मृतिमा उनका बुवाआमाले प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानको सहयोगमा बिर्तामोड–७ मा रहेको बेल्स मोडल स्कुलमा १० जना विद्यार्थी अध्ययनरत रहेको सोही विद्यालयका प्रिन्सिपल तारा प्रसाईंले जानकारी दिए ।

शेयर गर्नुहोस :

54
Shares