बिर्तामोड । झापाको पूर्वी नाका काँकरभिट्टाबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने एक बंगलादेशी नागरिकलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो १२ः४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ गैरीगाउँस्थित सीमा क्षेत्रबाट नेपालतर्फ आउँदै गरेका ती नागरिकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । भारतको पानीट्याङ्की हुँदै मेची खोलाको बाटो भएर अनधिकृत र गैरकानुनी रूपमा नेपालतर्फ प्रवेश गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बंगलादेशको चाँदपुर तुलातोली कचुवा मनोहरपुर बस्ने मोहम्मद ताजुल इस्लामका ३३ वर्षीय छोरा मोहम्मद सैफुल इस्लाम रहेका छन् । उनको साथबाट बंगलादेशी राहदानी समेत बरामद गरिएको छ ।
नियन्त्रणमा लिएका इस्लामलाई आवश्यक अनुसन्धानका लागि सुरुमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको थियो । उनीमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाउनका लागि थप अनुसन्धान र कारबाहीको प्रक्रियाका निम्ति अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया