मुख्य समाचार

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानको १२ औं राष्ट्रिय सम्मान एवं पुरस्कार समर्पण

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानको १२ औं राष्ट्रिय सम्मान एवं पुरस्कार समर्पण


झापा । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले काठमाडौँमा एक विशेष समारोहका बीच आफ्नो १२ औं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गरेको छ ।

समारोहमा आधा शताब्दीभन्दा बढी समय उच्च शिक्षाको गुणस्तर सुधार र प्राज्ञिक विकासमा अविस्मरणीय योगदान पु¥याएका काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा तथा वैज्ञानिक नवप्रवर्तनमा युवा पुस्तालाई प्रोत्साहित गर्दै देशको प्रविधि विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुरलाई संयुक्त रूपमा यस वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कृषि क्षेत्रतर्फ प्रदान गरिने १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको रुद्र ओली स्मृति कृषि पुरस्कार पनि दुई व्यक्तित्व-संस्थालाई संयुक्त रूपमा समर्पण गरिएको छ । बागवानी क्षेत्रमा लामो समय अनुसन्धान गरी दिगो कृषि विकासमा पु¥याएको योगदानका लागि बागवानी विज्ञ चुटराज गुरुङ तथा नेपालको हावापानी सुहाउँदो उच्च घनत्वको स्याउ उत्पादन गरी देशमै उदाहरणीय व्यावसायिक कृषिमार्फत रोजगारी र वातावरणीय सन्तुलनमा योगदान पु¥याएबापत एग्रो मनाङ प्रा.लि. लाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि, पूर्व मन्त्रीपरिषद् अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र राष्ट्रको उन्नति एवं प्रगतिमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्वहरूको बधाई र सम्मान गर्दै प्रमुख अतिथि रेग्मीले यस्ता सम्मानले समाजमा सकारात्मक कार्य गर्नेहरूलाई थप ऊर्जा मिल्ने उल्लेख गर्नुभयो ।

समारोहमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा मोहन बहादुर थापाले पुरस्कृत व्यक्तित्व र संस्थाहरूको छनौट प्रक्रिया एवं विधिको पारदर्शी पाटोबारे प्रकाश पार्नुभएको थियो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी विज्ञ डा. महावीर पुनले समेत कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
१२ औं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares