झापा । झापाको शिवसताक्षी नगरपालिका–९ मिलनचोकस्थित विक परिवार यतिबेला शोकमा डुबेको छ । परिवारका सदस्य रामरुचन विकको रहस्यमय परिस्थितिमा मृत्यु भएपछि उनका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका २८ वर्षीय रामरुचन अघिल्लो साता मात्र घर फर्किएका थिए । परिवारका अनुसार घर फर्किएलगत्तै आफूलाई रामरुचनको साथी बताउने एक अपरिचित महिला विक परिवारको घरमा आएर एक दिन बसेकी मृतककी भाउनु कमल विकले बताइन् । भाउजु कमला विकका अनुसार उक्त महिलासँग रामरुचनको सम्बन्धबारे परिवारले चासो देखाउन थालेपछि ती महिला त्यहाँबाट हिँडेकी थिइन् ।
रामरुचन आइतबार घरबाट विर्तामोड जाने भन्दै निस्किएको श्रीमती टिका कुमारी दर्जीले बताइन् । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।

चारआली बस्दै आएकी श्रीमति टिका कुमारी दर्जीले रामरुचनलाई फोन गरेर कहाँ जाने भनेर सोधेको र विर्तामोड जाने जवाफ पछि बेलुका छोरा भेट्न चारआली नै आउन आग्रह गरेको उनले बताइन् ।
बुधबार अर्जुनधारा नगरपालिका–५ चाँदनीचोकस्थित चित्रबहादुर थापाको घरमा डेरा गरी बस्ने देवी शंकरले रामरुचन आगनमा लडेर फिज काडेर गम्भीर अवस्थामा रहेको भन्दै तत्काल आउन खबर गरेकी मृतकका आमा कृष्ण्माया रुचालले बताइन् । खबर पाएपछि घटनास्थल पुगेको परिवारले प्रहरीको सहयोगमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगेको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको मृतककी आमा कृष्मायाको भनाई छ ।
हाल रामरुचन विकको शव परीक्षण (पोस्टमार्टम) सम्पन्न गरी दमकस्थित शवगृहमा राखिएको परिवारले जनाएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानका लागि अर्जुधारा ७ मा घर भई अर्जुनधारा ५ डेरागरी बस्ने वर्ष २६ की देवी शंकर र उनका श्रीमान् वर्ष २७ का अर्जुन मिश्रलाई नियन्त्रणमा लिएको जनाएको छ । यता मृतकका परिवार र आफन्तले आफूहरूको किटानी जाहेरी लिन प्रहरीले लिन नमानेको गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि त्यसको अध्ययनका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ । मृतकका परिवारले साथीको साइनो लगाएर घरमा आउने उही देवी शंकर भएको बताएको छ ।
मृतकका परिवारजनले घटना रहस्य मय भन्दै सत्यतथ्य सार्वजनिक गर्दै निष्पक्ष र गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । घटनाले स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ ।







प्रतिक्रिया