दमक

दमकमा महिला स्वास्थ्य सचेतना, २ सय जना लाभान्वित

दमकमा महिला स्वास्थ्य सचेतना, २ सय जना लाभान्वित


दमक । महिलामा आफ्नो स्वास्थ्यप्रति जागरण र सजगता अभिवृद्धि गर्ने उद्देश्यका साथ झापाको दमकमा एक दिने महिला स्वास्थ्य सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिकाको सहकार्यमा दमक जेसीजले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

शनिबार आयोजित सो कार्यक्रममा दमक क्षेत्रका २०० भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विशेष गरी महिलाहरूमा बढ्दो रूपमा देखिने स्तन तथा पाठेघरको क्यान्सर, विभिन्न शारीरिक स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य र मनोसामाजिक पक्ष जस्ता गम्भीर तथा संवेदनशील विषयहरूमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो ।

सचेतना कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालकी डा. ज्योति भजु लामा नेतृत्वको विशेषज्ञ टोलीले क्यान्सर लाग्ने कारण, यसका लक्षण र बच्ने उपायहरूबारे विस्तृत जानकारी प्रदान गरेको थियो । त्यसैगरी, एडभान्स अस्पतालकी म्याट्रोन अनिता उप्रेती तथा मनोसामाजिक परामर्शदाता प्रमिला गौतमले महिलामा देखिने आम स्वास्थ्य समस्या, मानसिक तनाव व्यवस्थापन र मनोसामाजिक स्वास्थ्यका विविध आयामबारे प्रशिक्षण दिएको दमक जेसीजका अध्यक्ष राजेन्द्र विमलीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले ‘स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन’ भएको उल्लेख गर्नुभयो । उहाँले निरोगी र स्वस्थ रहनका लागि स्वयं व्यक्ति नै सबैभन्दा पहिले सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

दमक जेसीजका उपाध्यक्ष कुमार गजुरेल लगायतले मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण जेसीजका महासचिव रुबल अधिकारीले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares