बिर्तामोड । सन् २०२२ मा उत्कृष्ट शाखा बनेको वीरता लेडी जेसीज विवादको चंगुलमा फसेको छ । विधान विपरित नेतृत्व चयन गरेपछि लेडी जेसीज विवादमा तानिएको हो । विवादकै कारण वीरता लेडी जेसीजलाई नेपाल जेसीजले ‘ससपेन’ मा राखेको छ । वीरता लेडी जेसीजको नेतृत्वलाई केन्द्रले मान्यता दिएको छैन ।
वीरता लेडी जेसीजले सम्पन्न गरेको साधारणसभा र निर्वाचन प्रक्रियामाथि वैद्यताको प्रश्न उठेको थियो । विधानअनुसार साधारणसभा र निर्वाचन प्रक्रिया सञ्चालन नगरिएको भन्दै केन्द्रमा उजुरी परेको थियो ।

उजुरी पश्चात राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराईले वीरता लेडी जेसीजको विधि प्रक्रियाको अध्ययन गर्दै प्रतिवेदन बुझाएका थिए । भट्टराईले पेश गरेको प्रतिवेदनका आधारमा गरिएको मूल्याङकनमा प्रक्रिया त्रुटिपूर्ण देखिएको उल्लेख छ । नेपाल जेसीजको विधानअनुसार पुनः साधारण सभा तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्न वीरता लेडी जेसीजलाई निर्देशन गरिएको छ । पूर्व अध्यक्ष निशा शाक्यले साधारणसभा गर्न नसक्ने जानकारी नेपाल जेसीजलाई पठाइसकेको बुझिएको छ ।
जेसीज सचिवालयले २०२६ जनवरी २८ मा पठाएको पत्रअनुसार आवश्यक कागजातसहित प्रतिवेदन पेश गर्न भनेको थियो । नेपाल जेसीजका राष्ट्रिय महासचिव अमर घिमिरेद्वारा जारी पत्रमा वीरता लेडी जेसीजले सम्पन्न गरेको साधारण सभा र निर्वाचन प्रक्रिया विधानअनुसार नभएको तथा वैधानिक समेत नरहेको ठहर गरिएको छ ।
विधान बिपरीत गतिविधि गरेको आधारमा वीरता लेडी जेसीजलाई संस्थागत रुपमा कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । नेपाल जेसीजले पुनः साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढाउन दिएको निर्देशन अवज्ञा गरेपछि शाखा खारेजीको अवस्थामा पुगेको बताइएको छ ।
बिर्तामोडमा स्थापित संस्थाको रुपमा रहेको वीरता लेडी जेसीज अभिभावक बिहीन जस्तै बन्दै गएको छ । विगतमा चरम हस्तक्षेपको शिकार बनेको वीरता लेडी जेसीजमा समाधानका लागि खासै पहल समेत हुन सकेको छैन । पहल नहुनुको पछाडि पूर्वअध्यक्षहरु नै विभाजित भएको एक जेसीको भनाई छ । हामी संस्था बच्नुपर्छ भन्ने मान्यतामा छौं, उहाँले भन्नुभयो – केही साथीहरु संस्थाभन्दा पनि व्यक्ति जोगाउन लाग्नु भएको छ । वीरता लेडी जेसीजले यसअघि अधिवेशन गरेर मुना ढुङ्गेललाई नेतृत्व हस्तान्तरण गरेको थियो ।
ढुङ्गेललाई जेसीजको शाखा अध्यक्ष हुन आवश्यक मापदण्ड पुरा नगरेको आरोप लागेको छ । शाखा अध्यक्ष हुन कम्तिमा दुई वर्ष शाखा सञ्चालक समितिमा रहेको हुनुपर्ने र कम्तिमा चार वटा एरिया सम्मेलनमा सहभागी हुनुपर्ने विधानत ः व्यवस्था गरिएको छ ।
प्राप्त सूचना अनुसार यसअघिको नेतृत्वले ढुङगेललाई विधानविपरित अध्यक्ष पदमा निर्वाचित गरेको आरोप छ । ढुङगेलले दुई वर्ष शाखा सञ्चालक समितिमा रहेर काम गरेको भएपनि तीन वटा मात्र एरिया सम्मेलनमा सहभाागी भएको सूचना स्रोतको दावी छ । सम्मेलनमा सहभागी भएको एउटा तस्वीर किर्ते गरिएको आरोप छ ।
उनलाई विधान विपरित अध्यक्ष बनाएपछि केन्द्रले मान्यता दिन सकेको छैन । मान्यता नदिएपछि शाखाले कुनै गतिविधिहरु सञ्चालन गर्न सकिरहेको छैन । ६ महिनादेखि विवादमा फसेको वीरता लेडी जेसीजलाई समाधान खोज्न पूर्व अध्यक्षहरुले समेत चासो नदिएको गुनासो गरिएको छ ।
पूर्वअध्यक्ष राधा सुब्बाले सहमति र सहकार्यबाट समाधान खोज्नुपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले साधारणसभामा कमजोरी भएको दावी गर्नुभएको छ । पटक–पटक समाधानका लागि प्रयास गर्दा पनि समाधान नभएको उहाँको भनाई छ । कोही पनि ‘ब्याक’ हुदैन, कसरी समाधान होला र ? उहाँले भन्नुभयो ।
अध्यक्ष ढुङगेलले शाखालाई कारवाही गरेको बिषयमा अनविज्ञता प्रकट गर्नुभएको छ ।







प्रतिक्रिया