Banner news

फ्रान्सको शानदार जित

फ्रान्सको शानदार जित


न्यूयोर्क – न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान बनाए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। उक्त गोलसँगै उनले फ्रान्सका पूर्व स्ट्राइकर ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरेका थिए।

फ्रान्सले ८२औँ मिनेटमा अग्रता दोब्बर बनायो। एड्रियन राबिओटको पासमा ब्राड्ली बार्कोलाले गोल गर्दै टोलीलाई २-० को अवस्थामा पुर्‍याए।

खेलको इन्जुरी समयमा सेनेगलले पुनरागमनको संकेत दिएको थियो। इन्जुरी समयको पाँचौं मिनेटमा इलिमान एनडियाएको पासमा इब्राहिम म्बायेले गोल गर्दै अन्तर २-१ मा झारे।

तर त्यसको एक मिनेटपछि एम्बाप्पेले लामो दूरीको प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। योसँगै उनले राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५८ पुर्‍याउँदै फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता बने।

रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल गरेका छन्। उनले यसअघि जिरुडको नाममा रहेको ५७ गोलको कीर्तिमानलाई पछि पारे। समूह ‘आई’ मा साविक उप विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ। यो समूहमा इराक र नर्वे पनि छन्।

शेयर गर्नुहोस :

0
Shares