अन्तराष्ट्रिय

सीप प्रमाणीकरण नभएका श्रमिक साउदी जान नपाउने

सीप प्रमाणीकरण नभएका श्रमिक साउदी जान नपाउने


बिर्तामोड । साउदी अरेबियाले सीप परीक्षण नगरी वैदेशिक रोजगारीका श्रमिक नलाने भएको छ । असार ३ गते बुधबारदेखि सीप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् ।

साउदीले नेपाली श्रमिकका लागि सीप प्रमाणीकरण (स्किल सर्टिफिकेसन) अनिवार्य बनाएको छ । नयाँ व्यवस्थाअनुसार असार ३ गते बुधबारदेखि सीप परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन् ।
साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सीप प्रमाणीकरण कार्यक्रम लागु गरेको जनाएको छ । यसका लागि श्रमिकले परीक्षा शुल्क ५० अमेरिकी डलर र पूर्वसिकाइ मान्यता (आरपिएल) शुल्क ५० अमेरिकी डलर गरी कुल १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

सीप प्रमाणीकरणका लागि श्रमिकहरूले ‘स्किल्स भेरिफिकेसन प्रोग्राम’ (एसभिपी) अनलाइनमार्फत आफ्ना आवश्यक प्रमाणपत्र अपलोड गर्नुपर्नेछ ।

नेपाल र साउदी अरेबियाबीच गत वर्ष श्रम सम्झौता भएको थियो । उक्त सम्झौतामा श्रम भर्नासम्बन्धी विषयमा निर्णय गर्नुअघि संयुक्त प्राविधिक समितिमार्फत छलफल गर्नुपर्ने व्यवस्था छ ।

तर, सीप प्रमाणीकरण कार्यक्रम लागु गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन । साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सीप परीक्षण अनिवार्य गरेको हो । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार श्रमिकको व्यावसायिक दक्षता प्रमाणित गर्न यो कार्यक्रम लागु गरिएको हो । सामान लोड–अनलोड गर्ने, भरिया, ठेला चालक तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूले पनि सिप परीक्षण गर्नुपर्ने व्यवस्था छ ।

सीप परीक्षणका लागि श्रमिकले साउदीको एसभिपीअन्तर्गतको ‘प्रोफेसनल एक्रिडिटेसन’ पोर्टलमा अनलाइन दर्ता गरी शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यसपछि स्वीकृत परीक्षा केन्द्र र परीक्षा मिति छनोट गर्न सकिनेछ । करिब तीन घण्टा लामो परीक्षणको नतिजा २४ घण्टादेखि एक साताभित्र प्रकाशन गरिने जनाइएको छ ।

सूचनाअनुसार परीक्षामा सहभागी हुने श्रमिकलाई तीन पटकसम्म अवसर दिइनेछ । तीनैपटक असफल भएमा सम्बन्धित श्रमिकले साउदीमा रोजगारीका लागि जान पाउने छैनन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै श्रमिकमाथि अतिरिक्त आर्थिक भार थपिने र वैदेशिक रोजगार प्रक्रिया झन् जटिल बन्ने जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares