बिर्तामोड । मानव अधिकार सञ्जाल झापाले चारपानेमा एक जना महिलामाथि भएको अमानवीय र अपमानजनक घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा राजवंशी थरकी महिलामाथि भएको अमानवीय र अपमानजनक घटनाको विषयलाई लिएर सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
२०८३ जेठ २९ गते अन्दाजी ६ः३० बजे बिर्तामोड–२ स्थित चारपानेमा एक महिलामाथि मोसो दल्ने, सार्वजनिक अपमानको घटना भएको सञ्जाल बुझाइ रहेको छ । नेपालको संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा २२ यातनाविरुद्धको हक र धारा ३८ मा महिलाको हकको गम्भीर उल्लंघन भएको सञ्जालको ठहर छ ।
कानुन हातमा लिएर भीडतन्त्रलाई प्रश्रय दिने यस्ता कार्य दण्डनीय अपराध भएको मानवअधिकार सञ्जाल झापा स्थानीय प्रशासन, प्रहरी निकायलाई स्पष्ट कार्यदिशासहित तत्काल कार्यान्वयन गर्न सिफारिस गरेको छ ।
सञ्जालका झापा अध्यक्ष डा. रुपकप्रसाद खनाल र सचिव दिपक दासले मंगलवार विज्ञप्ति निकालेर निष्पक्ष र दबाबमुक्त अनुसन्धान पक्राउ परेका आरोपीहरूमाथि कुनैपनि राजनीतिक, सामाजिक वा आर्थिक दबाबमा नपरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, थप दोषीको पहिचान गरी भीडमा संलग्न भई भिडियो खिच्ने, उत्तेजना फैलाउने र मतियारको भूमिका खेल्ने अन्य व्यक्तिहरूको पनि पहिचान गरी कानुनी दायरा ल्याउन र विद्युतीय अपराधको रोकथाम र पीडितको अनुमतिबिना र उनको अपमान हुनेगरी सामाजिक सञ्जालमा फैलाइएका फोटोलाई अविलम्ब हटाइयोस् ।
साथै, यस्ता अमानवीय घटना तथा क्रियाकलाप समाजमा पुनः नदोहरीनका लागि नागरिक समाज तथा सरोकार समूहहरुलाई मानवअधिकार सञ्जाल झापाले आग्रह तथा अनुरोधसमेत गरिएको छ ।







प्रतिक्रिया