Banner news

अर्जुनधाराको फोहोर व्यवस्थापन नगरबाटै, वार्षिक शुल्क न्यूनतम ६ सय

अर्जुनधाराको फोहोर व्यवस्थापन नगरबाटै, वार्षिक शुल्क न्यूनतम ६ सय


बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले ८ वर्षदेखि आफै फोहोर व्यवस्थापन गर्दै आएको छ । सुरुवातमा निजी जमिनमा व्यवस्थापन गर्दै आएको नगरपालिकाले हाल सार्वजनिक जमिनमा फोहोर व्यवस्थापन गर्दै आएको जनाएको छ ।

नगरपालिकाले आफै कर्मचारी व्यवस्थापन गरेर वर्षौदेखि फोहोर व्यवस्थापन गर्दै आएको सरसफाई व्यवस्थापक माधव भण्डारीले जानकारी दिए । उनका अनुसार ३ वटा गाडि प्रयोग गरेर अर्जुनधाराको फोहोर उठाउने काम भइरहेको छ ।

दैनिक ५ टन फोहोर उत्पादन हुने अर्जुनधारामा हाल वडा नं. ५ स्थित कैलाशघाट क्षेत्रमा व्यवस्थापनको काम भइरहेको छ । २ वटा ट्याक्टर र १ ट्रिपरमा २-२ जना सहयोगीसहित चालकको व्यवस्था गरिएको छ । वनजंगल र खोलाको सुविधा भए पनि नगरपालिकाले वातावरणलाई ध्यान दिदैं व्यवस्थापन गरिरहेको व्यवस्थापक भण्डारी बताउँछन् । उनले कैलाशघाटको डम्पिङ साइडमा खाल्डो बनाएर फोहोर पुर्ने गरेको जानकारी दिए । मिक्स गिटीले फोहोर पुर्ने काम भइरहेको छ, उनी भन्छन् – फोहोर व्यवस्थापन स्थलदेखि मानववस्ती अलि टाढा छ ।

निजी जमिनमा फोहोर व्यवस्थापन गर्दा वार्षिक रुपमा भाडा बुझाउनुपर्ने बाध्यता थियो । हाल नगरपालिकाले सार्वजनिक स्थलमा फोहोर व्यवस्थापन गर्दै आएको उनको भनाई छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले नगरवासीसँग न्यून शुल्क लिदैं आएको फोहोर व्यवस्थापक भण्डारीको धारणा छ । उनका अनुसार न्यूनमत ६ सय वार्षिक शुल्क निर्धारण गरिएको छ । अधिकतम ३६ सय रुपैंयाँमा फोहोर उठाउने काम भइरहेको उनले जानकारी दिए । सरकारी निकायको फोहोर निशुल्क संकलन गरिन्छ भने प्राइभेटमा अधिकतम ३६ सय रुपैयाँ शुल्क लिने गरिएको जनाइएको छ ।

अर्जुनधारा नगरपालिकाले करिव ५ हजार घर परिवारबाट फोहोर संकलन गर्दै आएको छ । फोहोर संकलनका लागि विभिन्न रुट तयार गरेको नगरपालिकाले व्यवस्थापनका लागि विकल्प समेत खोजिरहेको छ । कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा परियोजनामा फोहोर लैजाने गरि तयारी गरिरहेको जनाइएको छ ।

साउन महिनादेखि फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्ने योजना गरेको व्यवस्थापक भण्डारी बताउछन् । उनले नगरवासीबाट संकलित रकमले इन्धन खरिद गर्न समेत नपुग्ने जानकारी दिए । गत वर्ष फोहोर संकलन शुल्क वापत साढे ६ लाख रुपैयाँ उठेको थियो । औषतमा ८ देखि १० लाख रुपैयाँसम्म शुल्क उठाउन सकिने बताइएको छ । नगरभित्र फोहोर व्यवस्थापन गर्न ६० लाख हाराहारी खर्च हुने गरेको छ । नगरवासीले उपलब्ध गराउने शुल्क बाहेकको खर्च नगरपालिका आफैले व्यहोर्ने गरेको छ । अन्य पालिकाको तुलनामा अर्जुनधारामा न्यून शुल्कमा फोहोर संकलन गर्ने काम भइरहेको व्यवस्थापक भण्डारीको भनाई छ ।

अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले सरसफाईका लागि नगरपालिकाले वार्षिक रुपमा ठुलो लगानी गर्दै आएको जानकारी दिए । नगरवासीलाई खर्च कम गर्न नगरकै तर्फबाट लगानी गरिरहेको बताए । आगामी दिनमा फोहोर व्यवस्थापनलाई थप व्यवस्थित गर्दै जाने उनको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares