झापा । झापामा लोकप्रिय सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ को तेस्रो संस्करणअन्तर्गत यस वर्ष ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ आयोजना हुने भएको छ । अमृत स्टोर बिर्तामोडको प्रस्तुतिमा तथा एनएसएस इभेन्टको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिताबारे बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
संगीत क्षेत्रमा सक्रिय युवा तथा नवप्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै पूर्वी नेपालका उदाउँदा ब्यान्डहरूलाई व्यवस्थित मञ्च उपलब्ध गराउने उद्देश्यले ‘झापा रकस्टार’ आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजक अमृत स्टोरका अध्यक्ष अमृत पौडेलले पहिलो चरणको डिजिटल अडिसनमा सहभागी १२ वटा ब्यान्डमध्ये उत्कृष्ट सात ब्यान्ड फिजिकल अडिसनका लागि छनोट भएको जानकारी दिए । उनका अनुसार बेस क्लिप ब्यान्ड, रागभर्स, स्ट्रबरी ब्यान्ड, जेनम ब्यान्ड, कालचक्र ब्यान्ड, यात्री ब्यान्ड र आवाज ब्यान्ड अर्को चरणका लागि छनोट भएका छन् ।
कार्यक्रम निर्देशक सुनिता तामाङले ‘झापा रकस्टार’ केवल प्रतिस्पर्धामा सीमित नभई संगीतप्रेमी, कलाकार र दर्शकलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको बताइन् । यस्ता कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान, प्रवद्र्धन तथा सांगीतिक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उनले प्रतियोगितामा कुनै पनि प्रकारको भोटिङ प्रणाली नराखिएको स्पष्ट पारिन् ।
प्रतियोगिताका लागि गत वैशाख ५ गतेदेखि जेठ १० गतेसम्म डिजिटल अडिसनका लागि आवेदन खुला गरिएको थियो । कोशी प्रदेशका विभिन्न स्थानबाट ब्यान्डहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकको भनाइ छ । कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाका अनुसार आगामी असार १५ गते बिर्तामोडमा हुने फिजिकल अडिसनबाट उत्कृष्ट पाँच ब्यान्ड छनोट गरिनेछ । ती ब्यान्डबीच ग्रान्ड फिनालेमा अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता ब्यान्डले ५० हजार रुपैयाँ नगदसहित गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछ । दोस्रो स्थान हासिल गर्ने ब्यान्डले ३० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गर्नेछ भने तेस्रो हुने ब्यान्डले २० हजार रुपैयाँ नगदसहित गिटार र पोर्टफोलियो सुट प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउन सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यम र संगीतप्रेमीहरूको सहयोग रहने निर्देशक तामाङले बताइन् । यसअघि २०८१ सालमा ‘झापा रकस्टार’ को पहिलो संस्करण अन्तर्गत ‘खुला ब्यान्ड ब्याटल’ तथा दोस्रो संस्करणमा ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’ सफलतापूर्वक सम्पन्न भइसकेको थियो । आयोजकका अनुसार तेस्रो संस्करणले पनि कोशी प्रदेशका प्रतिभाशाली ब्यान्डहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया