शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले महिलाहरूलाई न्याय तथा कानुन सम्बन्धी जानकारी र पहुँच विस्तार गर्ने उद्देश्यले नगरका विभिन्न टोलमा कानुनी परामर्श तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम नगरका सात स्थानमा आयोजना गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।
विशेषगरी निम्न आय भएका, विपन्न तथा पिछडिएको वर्गका महिलाहरू कानुनी जानकारी र न्यायिक सेवाको पहुँचबाट टाढा रहने अवस्थालाई मध्यनजर गर्दै उनीहरूकै टोलसम्म पुगेर कानुनी परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। कार्यक्रममार्फत महिलाहरूलाई आफ्नो अधिकार, कानुनी प्रक्रिया तथा न्याय प्राप्तिका उपायबारे जानकारी गराइएको थियो।
तालिमका क्रममा सहभागी अधिकांश महिलाहरूले आफूहरू बसोबास गर्ने क्षेत्रमा यसअघि महिलामुखी कार्यक्रमहरू नपुगेको गुनासो गरेका थिए। उनीहरूले अधिकांश कार्यक्रम बजार तथा केन्द्रमुखी हुने, गाउँका महिलाहरूले कार्यक्रमबारे समयमै जानकारी नपाउने र सहभागिताको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताएका थिए।
कार्यक्रममा नगरपालिकाले कानुन तथा न्यायसँग सम्बन्धित विभिन्न विषयमा जानकारी प्रदान गर्नुका साथै आगामी नीति तथा कार्यक्रम निर्माणका लागि सहभागी महिलाहरूबाट सुझाव समेत संकलन गरेको थियो। तालिममा वडा स्तरमा सञ्चालन भएका मेलमिलाप केन्द्रहरूको भूमिका, नगरपालिकाको न्यायिक समितिले गर्ने काम, विभिन्न प्रकारका विवाद तथा उजुरी कहाँ र कसरी दर्ता गर्ने भन्ने विषयमा जानकारी दिइएको थियो। साथै महिला हिंसा, घरेलु हिंसा, मानाचामल, अंशबण्डा, सम्पत्ति अधिकार, बालविवाह लगायतका विषयमा कानुनी व्यवस्था र पीडितले पाउन सक्ने सेवा तथा सहयोगबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक नरमाया कार्कीले नगर तथा वडाका अधिकांश कार्यक्रमहरू बजार केन्द्रित हुने गरेको गुनासो आएपछि गाउँ तथा टोलस्तरका महिलाहरूलाई लक्षित गरी उनीहरूकै बस्तीमा पुगेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले महिलाहरूलाई कानुनी रूपमा सचेत बनाउँदै उनीहरूका आवश्यकता र अपेक्षा बुझ्न समेत कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो।
उपप्रमुख कार्कीका अनुसार वडा नं. १० ट्याक्राका महिलाहरूले आयआर्जन वृद्धि हुने खालका सीपमूलक तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। त्यस्तै वडा नं. ११ को माथिल्लो टोलका महिलाहरूले सिलाइ–कटाइ सम्बन्धी तालिम उपलब्ध गराउन आग्रह गरेका छन्। महिलाहरूले सीप विकासका कार्यक्रममार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न नगरपालिकासँग माग गरेका हुन्।
कार्यक्रमका सहभागीहरूले शिवसताक्षीको माथिल्लो भेगका महिलाहरू विकास तथा जनचेतनामूलक कार्यक्रमबाट अपेक्षाकृत उपेक्षित भएको गुनासो गरेका थिए। वडा नं. ८ कल्याणचोकका महिलाहरूले समेत महिला लक्षित कार्यक्रमहरू बजार केन्द्रित नभई गाउँ केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए।
नगरपालिकाले महिलाहरूका गुनासा, सुझाव र आवश्यकताका आधारमा आगामी दिनमा गाउँ–टोल केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने तथा कानुनी सचेतना, महिला सशक्तीकरण र आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ। कार्यक्रमले महिलाहरूलाई न्यायिक तथा कानुनी सेवाप्रति थप सचेत र आत्मविश्वासी बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
शिवसताक्षी मिडिया प्रालिको समन्वयमा भएको तालिममा शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, नगरकी उजुरी प्रशासक नर्वदा दाहाललगायतले सहजीकरण गर्नु भएको थियो ।







प्रतिक्रिया