शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आन्तरिक रोजगारी सिर्जना तथा प्रवद्र्धन र सुरक्षित आप्रवासन सम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिकाको रोजगार सेवा केन्द्र र कारितास नेपालको संयुक्त आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा फडेन्द्र दाहालले आन्तरिक रोजगारी सिर्जना, प्रवद्र्धन तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो। कार्यक्रममा होटल व्यवसायी, कृषि क्षेत्रमा आबद्ध नागरिक, विद्यालयका शिक्षक, सहकारीकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको रोजगार सेवा केन्द्रले जनाएको छ ।
अन्तरक्रियाका क्रममा सहभागीहरूबाट प्राप्त सुझावहरू समेत संकलन गरिएको थियो । कारितास नेपालका सामाजिक परिचालक चिरञ्जीवी लुइँटेलका अनुसार संकलित सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समावेश गरिनेछ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले नेपाल सरकारको नीति अनुरूप आगामी १० वर्षभित्र नागरिकलाई रोजगारी सुनिश्चित गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको बताउनुभयो । उहाँले सीप भएका श्रमिकलाई रोजगारदातासँग जोड्ने तथा सीप नभएकाहरूलाई आवश्यक तालिममार्फत दक्ष बनाउने कार्य भइरहेको जानकारी दिनुभयो ।
त्यसैगरी, कारितास नेपालका प्रमुख शंकरकुमार पौडेलले स्थानीय उत्पादनको ब्रान्डिङ गरी बजारीकरण गर्न र नगरभित्र रहेका पर्यटन क्षेत्रलाई रोजगारीको माध्यमका रूपमा विकास गर्न सुझाव दिनुभयो ।
सहभागीहरूको तर्फबाट श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेल, शिवसताक्षी व्यवसायी संघका अध्यक्ष किरण ओली तथा शिवसताक्षी प्याब्सनका अध्यक्ष रामप्रसाद सुहाङ्गलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले रोजगारी सिर्जनाका लागि युवालाई सीपमूलक तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले स्पष्ट रोजगार नीति निर्माण गर्दै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न र त्यस्ता उद्योगलाई आवश्यक सहुलियत तथा सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याएका थिए।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले गर्नुभएको थियो । रोजगार शाखा प्रमुख विदुर तिम्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा हिमालयन अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।







प्रतिक्रिया