Banner news

इलाममा रात्रिकालीन सवारी आवगमनमा रोक

इलाममा रात्रिकालीन सवारी आवगमनमा रोक


इलाम – मनसुन सक्रिय भएसँगै सम्भावित विपद् र जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ।

यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिसकेको र भारी वर्षाको सम्भावनाका कारण जिल्लाका सडक, पुल तथा राष्ट्रिय राजमार्गहरूमा क्षति भई बाटो अवरोध हुन सक्ने देखिएकाले प्रशासनले यस्तो कदम चालेको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचना अनुसार अबदेखि अर्को सूचना नभएसम्मका लागि प्रत्येक दिन बेलुका ८:०० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि बिरामी बोकेका एम्बुलेन्स र अति आवश्यक काम परी यात्रा गर्नुपर्ने सवारी साधनबाहेक अन्य सबै प्रकारका साना, ठुला तथा मालवाहक सवारी साधनको आवगमनलाई पूर्ण रूपमा रोक लगाइएको छ। अति आवश्यक अवस्थामा यात्रा गर्नुपरेमा स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

यसैगरी, मेची राजमार्ग, मेची कोरिडोरको इलाम–बेलासे खण्ड लगायत जिल्लाका अन्य ग्रामीण सडकहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आम सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रशासनले काठ तथा गोलिया बोकेका ओभरलोड भारी सवारी साधनहरूलाई नियन्त्रित रूपमा मात्र आवगमन गराउने निर्णय गरेको छ भने खाद्यान्न, निर्माण सामग्री लगायतका दैनिक जीवन निर्वाहका लागि आवश्यक सामग्री बोकेका सवारी साधनहरूलाई पनि सडकको अवस्था र क्षमताको पूर्ण पालना गरेर मात्र चलाउन निर्देशन दिएको छ।

बाढी र पहिरोका कारण सार्वजनिक सडकमा पुग्न सक्ने क्षति र यातायात अवरोध हुनसक्ने विषयमा पूर्व सतर्कता अपनाउन, यात्रा गर्नुपूर्व सवारी चालक, सवारी धनी तथा यात्रीहरूलाई बाटोको अवस्था र आवगमनको बारेमा अग्रिम जानकारी लिएर मात्र यात्रा तय गर्न र विपद्को समयमा सजग रही समयमै सूचना आदानप्रदान गर्न जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।

शेयर गर्नुहोस :

0
Shares