बिर्तामोड । झापामा विशेष कार्यक्रम मार्फत ‘लागूऔधष विरुद्ध झापा अभियान’ सुरु गरिएको छ । आज बिर्तामोडमा आयोजित विशेष कार्यक्रमबाट अभियानको सुरुवात गरिएको हो । अभियानको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले झापामा लागूऔषधको ओसारपसार र प्रयोग भयावह भएको बताउनुभएको छ । जिल्लाको अवस्थालाई मध्यनजर गरेरै झापामा यो अभियानको थालनी गरिएको बताउनुभएको हो । उहाँले पछिल्लो समय लागूऔषध कारोवार र प्रयोग क्रमशः वृद्धि हुँदै गएको धारणा राख्नुभयो ।

कोशी प्रदेशमा लागूऔषध ठुलो समस्या रहेको भन्दै न्यूनिकरणका लागि प्रभावकारी अभियानको जरुरी रहेको बताउनुभयो । झापामा राम्रो अभियान सुरु भएको छ , उहाँले भन्नुभयो – यो अभियानलाई सबै पालिका तहसम्म पुराउनुपर्छ । सबैले साझा अभियानको रुपमा ग्रहण गर्नुपर्छ । प्रहरीबाट मात्रै लागूऔषध न्यूनिकरण गर्न नसकिने भन्दै मुख्यमन्त्री कार्कीले नागरिक समाज, परिवारहरुको समेत भूमिकाको खाँचो छ ।
यस्तै, अवस्था रहिरहे ४÷५ वर्षपछि कोही पनि सुरक्षित हुन सक्ने अवस्था छैन । मुख्यमन्त्री कार्कीले भन्नुभयो, लागूऔषध न्यूनिकरण नगर्ने हो भने देशमा अब असर मान्छे भेट्न गाह्रो पर्नेछ । लागूऔषध न्यूनिकरणमा एक छिन पनि ढिलाई गर्न नहुने भन्दै हिमाल तर्फ फैलदै गएको जालो रोक्न सबैको साथ सहयोगको खाँचो पर्ने धारणा राख्नुभयो ।
पछिल्लो समय लागूऔषध र मौसमजन्य विपद् नेपालका लागि चुनौतिपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले हरेक परिवार, नागरिक समाजले न्यूनिकरणका लागि हातेमालो गर्न आग्रह गरेका छन् । बालबालिका तथा युवा पुस्तालाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बनाउन सूझाव दिनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले अभियानका क्रममा हरेक विद्यालय र विभिन्न स्थानमा राखिने पोष्टर सार्वजनिक गर्नुभयो । यस्तै, मुख्यमन्त्री कार्कीले लागूऔषध विरुद्ध मैत्रीपूर्ण खेलकुदका लागि जर्सी सार्वजनिक गर्नुभएको थियो ।







प्रतिक्रिया