बिर्तामोड । झापामा विशेष कार्यक्रम मार्फत ‘लागूऔधष विरुद्ध झापा अभियान’ सुरु गरिएको छ । शनिवार बिर्तामोडमा आयोजित विशेष कार्यक्रमबाट अभियानको सुरुवात गरिएको हो ।
बिर्तामोड नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा आयोजित कार्यक्रमबाट जिल्लालाई लागूऔषध मूक्त जिल्ला बनाउन अभियान थालिएको झापाको प्रमुख बसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँले झापामा लागूऔषधको अवस्था डरलाग्दो रहेको कारण न्यूनिकरणका लागि प्रभावकारी अभियानको थालनी गरिएको बताउनुभयो । शैक्षिक र खेल क्षेत्रको माध्यमबाट अभियानलाई तल्लो तहसम्म पुराउने योजना रहेको सुनाउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अभियानका क्रममा हरेक विद्यालय र विभिन्न स्थानमा राखिने पोष्टर सार्वजनिक गर्नुभयो । यस्तै, मुख्यमन्त्री कार्कीले लागूऔषध विरुद्ध मैत्रीपूर्ण खेलकुदका लागि जर्सी सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले झापामा लागूऔषधको ओसारपसार र प्रयोग भयावह भएको बताउनुभयो । जिल्लाको अवस्थालाई मध्यनजर गरेरै झापामा यो अभियानको थालनी गरिएको बताउनुभएको हो । उहाँले पछिल्लो समय लागूऔषध कारोवार र प्रयोग क्रमशः वृद्धि हुँदै गएको धारणा राख्नुभयो । कोशी प्रदेशमा लागूऔषध ठुलो समस्या रहेको भन्दै न्यूनिकरणका लागि प्रभावकारी अभियानको जरुरी रहेको बताउनुभयो । झापामा राम्रो अभियान सुरु भएको छ , उहाँले भन्नुभयो – यो अभियानलाई सबै पालिका तहसम्म पुराउनुपर्छ । सबैले साझा अभियानको रुपमा ग्रहण गर्नुपर्छ । प्रहरीबाट मात्रै लागूऔषध न्यूनिकरण गर्न नसकिने भन्दै मुख्यमन्त्री कार्कीले नागरिक समाज, परिवारहरुको समेत भूमिकाको खाँचो छ ।
यस्तै, अवस्था रहिरहे ४-५ वर्षपछि कोही पनि सुरक्षित हुन सक्ने अवस्था छैन । मुख्यमन्त्री कार्कीले भन्नुभयो, लागूऔषध न्यूनिकरण नगर्ने हो भने देशमा अब असर मान्छे भेट्न गाह्रो पर्नेछ । लागूऔषध न्यूनिकरणमा एक छिन पनि ढिलाई गर्न नहुने भन्दै हिमाल तर्फ फैलदै गएको जालो रोक्न सबैको साथ सहयोगको खाँचो पर्ने धारणा राख्नुभयो ।
पछिल्लो समय लागूऔषध र मौसमजन्य विपद् नेपालका लागि चुनौतिपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले हरेक परिवार, नागरिक समाजले न्यूनिकरणका लागि हातेमालो गर्न आग्रह गरेका छन् । बालबालिका तथा युवा पुस्तालाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बनाउन सूझाव दिनुभयो ।
नागरिकको सहभागिता आवश्यक
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्यक्रममा कार्कीले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब अभियानलाई थप प्रभावकारी, सक्रिय र कडाइका साथ अघि बढाइने बताउनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँल तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालगायतले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
अभियानका क्रममा प्रस्तुत तथ्याङ्कअनुसार झापामा हाल २१ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा पाँच महिला सुधार केन्द्रसहित ४२ वटा सुधार केन्द्र सञ्चालनमा रहेका छन् । लागूऔषधको बढ्दो प्रयोग र त्यसबाट सिर्जित सामाजिक चुनौती न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा समुदायबीचको सहकार्यलाई अभियानले थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।







प्रतिक्रिया