सन्दीप ओली
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापाको उपस्थितिलाई सामान्य औपचारिकताको रूपमा मात्र बुझ्नु गलत हुनेछ। रास्वपाका अधिकांश नेता तथा कार्यकर्ताबाट निरन्तर आलोचना र व्यक्तिगत आक्रमणको केन्द्रमा रहँदै आएका गगन थापाले निमन्त्रणा स्वीकार गर्दै चितवन पुगेर स्पष्ट शब्दमा भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी तपाईंहरूको उचाइ देखेर लोभिएका छौ, तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौँ।” उनको उपस्थिति र अभिव्यक्ति लोकतान्त्रिक संस्कारको उच्चतम अभ्यास थियो। प्रतिस्पर्धी शक्तिहरूबीच संवाद र पारस्परिक सम्मान दुर्लभ बन्दै गएको समयमा चितवनमा उनले दिएको सन्देश समग्र लोकतान्त्रिक प्रणालीकै लागि एउटा उदाहरणीय अभिव्यक्ति थियो:असहमति हुन सक्छ, तर संवाद समाप्त हुनु हुँदैन; आलोचना हुन सक्छ, तर राजनीतिक सम्मान गुम्नु हुँदैन।

भोलि, असार ९ गते, गगन थापा झापाको बिर्तामोड आउँदैछन्। विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हालेपछिको यो उनको पहिलो झापा सम्बोधन हुनेछ। झापा एउटा जिल्ला मात्र होइन, नेपालको राजनीतिक प्रयोगशाला पनि हो। विद्रोह, संघर्ष र वैचारिक द्वन्द्व पटक–पटक पुनरावृत्त भएको यस भूमिमा उनको उपस्थितिलाई केवल राजनीतिक औपचारिकताको रूपमा होइन, कांग्रेसको भावी दिशासम्बन्धी राजनीतिक संकेतका रूपमा पनि बुझ्न सकिन्छ।
गगन थापाको राजनीतिक पहिचान लामो समयसम्म ‘विद्रोही चेतना’ बाट निर्देशित रह्यो। उनले पार्टीभित्र स्थापित संरचना र निर्णय प्रक्रियामाथि प्रश्न उठाए, युवा असन्तुष्टिलाई राजनीतिक रूपमा सम्बोधन गर्ने प्रयास गरे र परिवर्तनको आकांक्षालाई संस्थागत ढाँचाभित्र समेट्ने प्रयत्न गरे। तर वर्तमान राजनीतिक सन्दर्भमा उनी नयाँ मोडमा उभिएका छन,विद्रोही चेतना कायम राख्दै सुधारक बन्ने मोडमा। विद्रोहीले पुरानो संरचनालाई चुनौती दिन सक्छ, तर नयाँ संरचना निर्माण गर्न सक्दैन। निर्माणको जिम्मेवारी वहन गर्ने क्षमताले नै उनको आगामी राजनीतिक भविष्य निर्धारण गर्नेछ, र झापा सम्बोधनमा त्यसको झल्को अवश्य देखिने अपेक्षा गर्न सकिन्छ।
नेपालको राजनीतिक परिदृश्य तीव्र रूपमा परिवर्तन भइरहेको छ। दलहरूको ऐतिहासिक योगदानभन्दा वर्तमान कार्यसम्पादन नागरिकहरूको दलहरुलाइ गर्ने मुल्याङ्कनको प्रमुख मापदण्ड बनेको छ। सूचना प्रविधिले राजनीतिक चेतनालाई तीव्र बनाइरहेको छ, अपेक्षाहरू बढाइरहेको छ र धैर्यको सीमा खुम्च्याइरहेको छ। मतदाताहरू अब त्यागको इतिहास सुनेर मात्र सन्तुष्ट हुँदैनन्; उनीहरू परिणाम हेर्न चाहन्छन्। राजनीति अब केवल निष्ठाको प्रदर्शन होइन, समाधानको प्रतिस्पर्धा बन्नुपर्छ। यही कारणले परम्परागत दलहरू दबाबमा छन्। नयाँ राजनीतिक शक्तिहरूको उदयलाई केवल क्षणिक लहर ठानेर बेवास्ता गर्नु अर्को भूल हुनेछ।
आज नेपाली कांग्रेसको समस्या केवल संगठनात्मक मात्र होइन, वैचारिक पनि हो। व्यावहारिक राजनीति, सत्ताकेन्द्रित सम्झौता र गुटगत सन्तुलनको बाध्यताले विचार निर्माणको प्रक्रिया कमजोर बनेको स्पष्ट देखिन्छ। कुनै पनि राजनीतिक दलमा संगठन जति महत्वपूर्ण हुन्छ, त्यसलाई दिशा दिने वैचारिकी पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
गगन थापाले आफूलाई स्वर्गीय प्रदीप गिरीको वैचारिक प्रभावमा रहेको कुरा पटक–पटक व्यक्त गर्दै आएका छन्। प्रदीप गिरीको योगदान कांग्रेसको मात्र होइन, समग्र नेपाली राजनीतिक चेतनाको साझा सम्पत्ति हो। कांग्रेसलाई केवल सत्ताकेन्द्रित दलका रूपमा होइन, विचारद्वारा निर्देशित प्रगतिशील शक्तिका रूपमा स्थापित गर्न प्रयत्नशील रहेका प्रदीप गिरीको निधनपछि कांग्रेसको वैचारिक संकट झन् गहिरिएको अनुभूति हुन्छ। अब समय आएको छ, त्यो विरासत पुनःस्थापित गर्ने। र त्यो ऐतिहासिक जिम्मेवारी गगन थापाको काँधमा आएको छ।
गगन थापाले अघि सारेको ‘प्रोजेक्ट गभर्नमेन्ट´ राजनीतिक पुनर्संरचनाको एक व्यावहारिक प्रयास हो। तर यसको सफलता स्पष्ट अवधारणा र संस्थागत कार्यान्वयनमा निर्भर रहनेछ। सरकारमा नरहेको अवस्थामा यसको कार्यान्वयन झन् चुनौतीपूर्ण हुनेछ। तथापि, नीति अनुसन्धान, क्षेत्रगत विशेषज्ञ समूह तथा सार्वजनिक संवादमार्फत यस अवधारणालाई संस्थागत गर्न सकिएमा नेपाली कांग्रेस भविष्यको सरकारका लागि तयार राजनीतिक शक्ति बन्न सक्छ।
असार ९ गते बिर्तामोडमा हुने कार्यक्रममा गगन थापाले तीनवटा कुरा स्पष्ट पार्न आवश्यक छ। पहिलो, नेपाली कांग्रेस अब केवल सत्ता प्राप्तिको साधन होइन, वैचारिक रूपमा निर्देसित प्रगतिशील आन्दोलन हो। दोस्रो, पार्टीले आफ्ना कमजोरी स्वीकार गर्दै आत्मसमीक्षाको प्रक्रिया सुरु गरेको छ। र तेस्रो, ‘प्रोजेक्ट गभर्नमेन्ट’ जस्ता अवधारणामार्फत कांग्रेस भविष्यको शासन सञ्चालनका लागि आजैदेखि तयारी गरिरहेको छ।
यदि गगन थापाले विद्रोही नेताको ऊर्जा कायम राख्दै सुधार र निर्माणको जिम्मेवारी सफलतापूर्वक वहन गर्न सके, उनी केवल नेपाली कांग्रेसका मात्र होइन, समकालीन नेपालको राजनीतिक रूपान्तरणका निर्णायक नेता बन्न सक्नेछन्।
झापाको मञ्च यसै प्रक्रियाको अग्निपरीक्षा हुनेछ।
(ओली ‘रिडर्स झापा’ का सदस्य हुन् । )







प्रतिक्रिया