बिर्तामोड । झापाको बिर्तामोडमा आइतवार विहानै एउटा घर कोल्टिएको खवर सनसनी फैलियो । आइतवार विहान साढे २ बजे सुगम पैनीमा आएको पानीको बहावले घरको जग खोलेपछि घर कोल्टिएको प्रहरीले जनाएको छ । कतिपयले चट्याङले जगमा हानेपछि घरको जग भासिएको आँकलन गरेका थिए ।

बिर्तामोड ५ सुकुमबासी लाईनमा बस्ने पहलमान ठाकुरको अढाई तले पक्की घरमुनीबाट बग्ने सुगम पैनीमा आएको पानीको बहावले घरको जग खोलेका कारण घर कोल्टिएको जनाइएको छ । प्रहरीका अनुसार मानवीय क्षति भएको छैन ।
घर कोल्टिएको खवर सबैलाई चासोको विषय बनेको थियो । कतिपयले एआईबाट घर लढेको तस्वीर बनाएर सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएका थिए । ठाकुर परिवारको घर कोल्टिएपछि उनीहरु डेरा बस्न बसपार्कतिर सरेका छन् । भुईतलाको सामान सुरक्षाकर्मीले निकालेपछि उनीहरु नजिकै डेरा सरेको जानकारी दिए ।
पहलमान र उनको श्रीमति रेखा राजवंशी दुई जना मजदुरी गर्दै आएका छन् । पहलमान घरमा रंङ लगाउने काम गर्छन् भने रेखा अर्काको घरमा सरसफाई मजदुरको रुपमा काम गरिरहेकी छन् । इजलाससित कुरा गर्दै उनले भनिन्, माथिको समान निकालेर घर लढाईदिनुहोस् ।
मासिक ६ हजार कमाउने रेखाले श्रीमानले दैनिक ६ सय रुपैयाँ आम्दानी गर्दै आएको बताइन् । सन् २००३ मा वैदेशिक रोजगारीका लागि कुवेद गएकी उनी घर फर्किएको ३ वर्ष भयो । कुवेतमा आमा र छोराले दुवईमा कमाई गरेको पैसाले घर बनाएको उनले सुनाईन् । अब, घर बनाउन गाह्रो छ , उनले भनिन् – जीवनभरको कमाई बर्वाद भयो ।
३ तलाको लागि जग बनाएको दावी गर्ने राजवंशीका अनुसार २० वर्षदेखि त्यहाँ बस्दै आएको बताइन् । घर बनाउँदा कुनै पैनी कुलो थिएन । पछि सबैतिरको पानी बगेर आउन थालेपछि घरमुनीबाट पानी बग्न थालेको हो । बसपार्कदेखि चारैतिरको पानी घरमा आएका कारण घर कोल्टिएको उनको दावी छ ।
उनका अनुसार त्यो जमिन कसैसँग किनेको होइन । पहिले रोकेर बसेको उनले सुनाईन् । घर भासियो, उनले दुखेसो पोखिन्, कसैले हाम्रो उद्धार गरिदियोस् ।







प्रतिक्रिया