मुख्य समाचार

विद्युतीय चुलो पाएपछि माई नगरपालिकाका एकल महिला हर्षित

विद्युतीय चुलो पाएपछि माई नगरपालिकाका एकल महिला हर्षित


बिर्तामोड । माई नगरपालिकाले चालू आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नगरका ८० जना एकल महिलाहरूलाई लक्षित गरी विद्युतीय इन्फ्रारेड तथा इन्डक्सन चुलो वितरण गरेको छ ।

आज माई नगरपालिका सितलीको आयोजनामा आयोजित एक विशेष कार्यक्रमका बीच प्रत्येक वडाबाट ८ जनाका दरले छनोट भएका कुल ८० जना लाभग्राही महिलाहरूलाई सो चुलो हस्तान्तरण गरिएको हो ।

चुलो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खम्बा सिं लिम्बुले यो कार्यक्रम एकल महिलाहरूलाई प्रविधिसँग जोड्ने र भान्छाको कामलाई सहज बनाउने प्रयास भएको बताउनुभयो । विद्युतीय उपकरण आधुनिक र समय बचत गर्ने माध्यम भए पनि यसको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उहाँले सुरक्षाका उपायहरू राम्ररी बुझेर मात्र चुलो चलाउन सम्पूर्ण दिदीबहिनीहरूलाई विशेष आग्रह समेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नगर उपप्रमुख हिमा भण्डारीले स्थानीय सरकार सधैं महिला र लक्षित वर्गको हितका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । दाउराको धुवाँबाट महिलाको स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कम गर्न यो कार्यक्रमले ठूलो मद्दत पु¥याउने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि महिला सशक्तीकरण र राहतका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यालयको प्रशासनिक एवं व्यवस्थापकीय तदारुकताका कारण आर्थिक वर्षको अन्त्यमा लक्षित वर्गसम्म यो राहत पु¥याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत ले जानकारी दिनुभयो । यस कार्यक्रमले स्थानीय स्तरमा स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने र परम्परागत इन्धनमाथिको निर्भरतालाई घटाउने विश्वास नगरपालिकाले लिएको छ । आधुनिक चुलो पाएपछि स्थानीय महिलाहरू निकै खुसी देखिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares