शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख नरमाया कार्की ले आन्तरिक स्रोत, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान समेटेर उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटमध्ये संघीय तथा प्रदेश सरकारको सशर्त कार्यक्रमतर्फ ४८ करोड ५८ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै नगरस्तरीय योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि २७ करोड ७० लाख रुपैयाँ छुट्याइएको नगरपालिकाले जनाएको छ। प्रशासनिक खर्चतर्फ १८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
कुल बजेटमध्ये ३१.५ प्रतिशत पुँजीगत खर्च तथा ६८.५ प्रतिशत चालु खर्च रहेको छ। सामाजिक सुरक्षा तथा संरक्षण भत्ता वितरणका लागि नगरपालिकाले छुट्टै ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो।
नगरका ११ वटै वडालाई सूत्रका आधारमा ५६ लाखदेखि ७२ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ। यसअन्तर्गत वडागत योजनाका लागि कुल ७ करोड रुपैयाँ छुट्याइएको छ।
नगरप्रमुख मेगाहाङ थोप्राले स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले अघिल्ला वर्षदेखि सञ्चालनमा रहेका अधिकांश योजनालाई निरन्तरता दिएको छ भने केही महत्वपूर्ण योजनालाई थप बजेट व्यवस्थासहित अघि बढाइनेछ।
बजेटमा नगरस्तरीय दुधे रंगशाला स्तरोन्नतिका लागि प्याराफिट निर्माण तथा फ्लडलाइट जडान गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी स्मार्ट विद्यालय निर्माण कार्यक्रम का लागि ६० लाख रुपैयाँ छुट्याइएको छ।
नगरपालिकाले सञ्चालन गर्दै आएको “सुन्दर शहर, उज्यालो नगर” कार्यक्रमलाई निरन्तरता दिएको छ। साथै पर्यटकीय क्षेत्रको विकास तथा विस्तार, नगर रिङरोड निर्माण कार्यलाई पनि आगामी वर्ष निरन्तरता दिइने जनाएको छ।
नगरपालिकाको बजेटले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा, खेलकुद तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै समृद्ध र व्यवस्थित नगर निर्माणको लक्ष्य लिएको नगरसभामा उल्लेख गरिएको छ। नगर सभाको सञ्चालन प्रमुख प्रशाकीय अधिकृत सुनिता तुम्बाफङ्फेले गर्नुभएको थियो ।







प्रतिक्रिया