बिर्तामोड, १० असार – बिर्तामोड नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ।
पूर्णखोप निर्देशिकाअनुसार बिर्तामोडका १० वटै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि आज आयोजित एक संक्षिप्त कार्यक्रममा नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

जनप्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नगरपालिकाले नगर अस्पतालसहित सबै वडाका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडाध्यक्षहरू तथा स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरूलाई खादा ओढाएर प्रमाणपत्र वितरण गर्नुभयो।
यसैबीच, आर्थिक वर्ष २०८३-८४ मा पनि पूर्णखोप सुनिश्चितताको अवस्था कायम राख्ने प्रतिबद्धतासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ। नगर प्रमुख प्रसाई, उपप्रमुख संग्रौला, वडाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख प्रसाईले कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट वञ्चित हुन नहुने बताउँदै पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीले गरेको मेहनत प्रशंसनीय रहेको बताउनुभयो ।
आगामी दिनमा समेत पूर्णखोप सुनिश्चितता तथा यसको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालाले हस्ताक्षर गरेको नगरपालिकाले जनाएको छ।







प्रतिक्रिया