Banner news

शिवसताक्षीमा शैक्षिक रूपान्तरण : विज्ञान संकायको सुरुवातदेखि लिम्बू भाषा र विद्यालय नर्ससम्मका अभ्यास

शिवसताक्षीमा शैक्षिक रूपान्तरण : विज्ञान संकायको सुरुवातदेखि लिम्बू भाषा र विद्यालय नर्ससम्मका अभ्यास


मनकुमार गदाल

विद्यालय पोशाकमा सजिएका विद्यार्थीहरू विज्ञान प्रयोगशालामा सामग्रीहरू हेर्दै र चलाउँदै छलफल गर्न व्यस्त देखिन्छन् । उनीहरू एकअर्कालाई प्रयोगशालाका सामग्री देखाउँदै विषयगत संवाद गरिरहेका छन् । यो दृश्य झापाको शिवसताक्षी नगरपालिका–११, दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको हो, जहाँ विद्यार्थीहरू प्रयोगात्मक अभ्यासमा जुटेका छन् ।

कक्षा ११ को विज्ञान संकायको प्रयोगशालामा रिपोर्टिङका लागि पुग्दा विद्यार्थीहरू समूहमा अभ्यास गरिरहेका भेटिए । प्रयोगशालामा सामग्रीहरूसँगै व्यस्त रहेकी छात्रा गंगा पौडेलले विज्ञान विषयप्रति सानैदेखि रुचि भएकाले यो संकाय रोजेको बताइन् । ‘यस विषयको अध्ययनपछि स्वदेशमै धेरै अवसर पाइने भएकाले मैले विज्ञान रोजेकी हुँ,’ उनले भनिन्, ‘अहिले वैदेशिक अध्ययनमा जाने लहर चले पनि न्यूरो साइन्स र मेडिकल जस्ता फराकिला र बिकाउ दायरा भएका क्षेत्र यहीँ छन् । यो पढेपछि विदेशको मुख ताक्नु पर्दैन, स्वदेशमै केही गर्न सकिन्छ ।’

विद्यालयका प्रधानाध्यापक गिरीराज शेर्माका अनुसार गत जेठ २५ गतेदेखि विद्यालयमा कक्षा ११ को विज्ञान संकायको पठनपाठन सुरु गरिएको हो । प्रयोगशालामा भेटिएका अर्का छात्र गणेश घिमिरेले पनि गंगाको भनाइसँग मिल्दो प्रतिक्रिया दिँदै विज्ञान पढेर बौद्धिक पलायन हुनुभन्दा स्वदेशमै केही गर्ने आफ्नो सोच रहेको सुनाए । अर्का छात्र झरेन्द्र मिश्रले भने, ‘सरकारले छुट्टै विज्ञान तथा प्रविधि मन्त्रालय स्थापना गरिसकेको छ । हिजोका दिनमा दाजु–दिदीहरू पढ्न सहर जानुपथ्र्यो, तर अहिले मैले आफ्नै गाउँघरमा बसेर यो विषय पढ्न पाएकाले भविष्य सुनिश्चित भएकोमा ढुक्क छु ।’

शिवसताक्षी नगरभित्रै पहिलोपटक विज्ञान संकायको पठनपाठन सुरु गरेको यस विद्यालयलाई नगरपालिकाले ल्याब (प्रयोगशाला) व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट सहयोग गरेको प्रधानाध्यापक शेर्माले जानकारी दिए । नगरभित्र पहिलोपटक यो संकाय सुरु भएकाले नगरपालिका, सरोकारवाला र अभिभावकहरूले सक्दो सहयोग गर्नुपर्ने शिक्षकहरूको भनाइ छ । एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू पढ्नका लागि ठूला सहर र बजार धाउनुपर्छ भन्ने गलत धारणा चिर्न विषयविज्ञ शिक्षकहरू मार्फत अध्यापन गराएर उत्कृष्ट नतिजा निकाल्न अहोरात्र खटिने प्रधानाध्यापक शेर्माले प्रतिबद्धता व्यक्त गरे । गत असार २ गते सेवा सेवानिवृत्त भएका लेखा फाँटका कर्मचारी छविलाल दवाडीले पनि विद्यालयले पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत विगतदेखि नै अब्बल स्थान कायम गर्दै आएको र विज्ञान संकायमा पनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

बालसेवा आधारभूत विद्यालयको फड्को
दूधामारी बजारबाट करिब ३ किलोमिटर दक्षिण शिवसताक्षी–७, फाक्तेपमा रहेको बालसेवा आधारभूत विद्यालयले शैक्षिक सत्र २०८० मा पालिका तहमा उत्कृष्ट नतिजा ल्याएर आधारभूत तर्फ प्रथम स्थान हासिल गरेको थियो । प्रथम भएसँगै विद्यालयले २ लाख रुपैयाँ पुरस्कार र सम्मान पत्र प्राप्त गरेको प्रधानाध्यापक बेनुप्रसाद कार्कीले जानकारी दिए ।
विद्यालयका शिक्षक सन्तोष खत्रीका अनुसार शैक्षिक सत्र २०८१ र २०८२ मा विद्यालयको उत्तीर्ण दर ९९ प्रतिशत रहेको थियो । उत्साही र सहयोगी अभिभावक, पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरूको सहयोगमा विद्यार्थी ओसारपसारका लागि २६ लाख ६५ हजार रुपैयाँको लागतमा एउटा मिनी बस सञ्चालनमा ल्याइएको छ, जुन विगत दुई वर्षदेखि सञ्चालनमा छ ।

नेपालको संविधान २०७२ ले मातृभाषामा शिक्षा पाउने अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेबमोजिम यस विद्यालयले कक्षा १ देखि ३ सम्म ऐच्छिक विषयका रूपमा लिम्बू भाषा पठनपाठन गर्दै आएको छ । रिपोर्टिङका क्रममा कक्षा ३ मा पुग्दा लिम्बू र गैरलिम्बू दुवै समुदायका विद्यार्थीहरूले लिम्बू भाषाबाटै स्वागत गरेका थिए । गैरलिम्बू छात्र कृशल पराजुलीले लिम्बू भाषामा संख्याहरू सुनाए । मातृभाषा शिक्षक तीर्थकुमारी लिम्बूले विद्यालयमा सबै समुदायका विद्यार्थीलाई हप्तामा दुई घण्टी लिम्बू भाषा पढाउने गरिएको बताइन् । कक्षामा लिम्बू भाषाका स्वरवर्ण, व्यञ्जनवर्णका शब्दहरू सिकाउने, आकार–इकार र संख्या चिन्न तथा लेख्न लगाउने गरिएको उनले जानकारी दिइन् । संविधानको धारा ३१ को उपदफा (५) मा प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने उल्लेख छ ।

यसैगरी, हाल अमेरिकामा बसोबास गर्दै आएका स्थानीय शिक्षाप्रेमी खडानन्द रेग्मीको ५ लाख रुपैयाँ सहयोगमा विद्यालयमा सरस्वतीको मन्दिर र मूर्ति निर्माणाधीन छ । शैक्षिक गुणस्तर वृद्धिका लागि शिवसताक्षी नगरपालिकाले बालसेवा विद्यालयको भवन रङ्गोरोगन, फल्स सिलिङ, कक्षाकोठामा बुकरन दराज, टेबल, जस्तापाता फेर्ने काम र कार्यालयका लागि आवश्यक फर्निचर उपलब्ध गराएको प्रधानाध्यापक कार्कीले बताए । विद्यार्थीलाई प्रयोगात्मक सिकाइ सहज होस् भनी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर ल्याबमा अभ्यास गराइन्छ । “गाडी चल्न चालक राम्रो हुनुपर्छ, त्यसैगरी शिक्षाको गाडी हाँक्ने मुख्य चालक प्रधानाध्यापक हो । प्रधानाध्यापक राम्रो भए विद्यालयले प्रगति गर्छ,“ प्रधानाध्यापक कार्कीले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ल्वागुनका अनुसार विद्यार्थीको शैक्षिक प्रगतिका लागि आधा दर्जन स्थानीय बासिन्दा तथा शिक्षाप्रेमीहरूले आफ्ना दिवंगत आफन्तको स्मृतिमा अक्षयकोष स्थापना गरिदिएका छन् ।

युवा व्यवस्थापन समितिको टोली, अनुशासित विद्यार्थी, सहयोगी अभिभावक र पेसाप्रति जिम्मेवार शिक्षक–कर्मचारीको सामूहिक प्रयासले नै विद्यालयले फड्को मारेको प्रधानाध्यापक कार्कीको ठम्याइ छ । यद्यपि, विद्यालयको स्थायी आयस्रोत नहुनु र अभिभावकको मन जितिरहनु अझै पनि चुनौती रहेको उनले बताए ।

ओझेलमा परेका धार्मिक विद्यालयलाई नगरको साथ
धार्मिक विद्यालयहरू सरकारी क्षेत्रबाट ओझेलमा परिरहेका बेला माइधारस्थित अनन्तादर्श संस्कृत वेद विद्यालयसँग स्थानीय सरकारले सहकार्य अघि बढाएको छ । विद्यालयमा वेदशक्ल, यजुर्वेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्डका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिक विषय समेत पढाइने शिक्षक देवनारायण निरौलाले बताए । नगरपालिकाले यस वेद विद्यालयलाई १ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । गत शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा सम्मिलित ५ जना विद्यार्थी नै ’बी प्लस’ ग्रेड ल्याएर शतप्रतिशत उत्तीर्ण भएको र शैक्षिक सत्र २०८१ मा पनि सहभागी ३ जना नै उत्तीर्ण भएको शिक्षक निरौलाले जानकारी दिए ।

विद्यालयमा ‘अनन्तादर्श बालकोष’ र ‘अनन्तादर्श बालसमूह’ गठन गरिएको सचिव विहान ढुङ्गेलले बताए । बालसमूहका अध्यक्ष सुजन अधिकारीले नगरपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा आफूहरूलाई सहभागी गराए पनि नगर र वडाको बजेट निर्माण प्रक्रियामा भने सहभागी नगराएको गुनासो गरे । वेद विद्यालयले कक्षा १० को संस्कृत विषयको पाठ्यपुस्तक बजारमा अभाव रहेको जनाएको छ ।

कक्षा ९ मा अध्ययनरत् छात्र रित्तिककी आमा सरस्वती कार्कीले छोरालाई वेदशास्त्रको ज्ञान दिलाउन वेद विद्यालयमा भर्ना गरेको बताउँदै यस्ता विद्यालयलाई स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने सुझाव दिइन् । विद्यालयका प्राचार्य उद्धव बाँस्कोटाले विद्यालयको मापदण्डभित्र रहेर आउने जुनसुकै समुदायका विद्यार्थीले पनि यहाँ विनाभेदभाव पढ्न पाउने स्पष्ट पारे ।

कठिन भूगोल र दलित समुदायको बाहुल्यता रहेको बालज्योति प्रावि
शिवसताक्षीको उत्तरी भेग, वडा नं. १० स्थित गैँडेमा रहेको बालज्योति प्राथमिक विद्यालय प्राकृतिक रूपमा हरियाली वातावरणमा अवस्थित छ । यस विद्यालयमा इलामको माई नगरपालिकाको लोसे भन्ने ठाउँबाट ६ जना विद्यार्थी बिहान सबेरै दुई घण्टाको पैदल बाटो हिँडेर पढ्न आउने गरेको विद्यालयकी सहायक प्रधानाध्यापक मथुरादेवी कार्कीले बताइन् । दैनिक ज्याला–मजदुरी गर्ने अभिभावकका छोराछोरी पढ्ने यस विद्यालयमा बहुकक्षा शिक्षण (मल्टिग्रेड टिचिङ) भइरहेको देखिन्छ ।

दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको छ भने उप्रेती एजुकेसन प्लेटफर्म र युईई झापाली समाज लगायतले भौतिक निर्माण र छात्रवृत्तिमा सहयोग गरेका छन् । सधैँ मजदुरी गरेर जीविकोपार्जन गर्ने तराई दलित (ऋषिदेव) समुदायका बालबालिकाको बाहुल्यता रहेको यस विद्यालयमा घेराबारा (कम्पाउन्ड) को अभाव लगायतका समस्या रहेकाले विद्यालयको स्तरोन्नतिका लागि सरोकारवाला पक्षलाई हातेमालो गर्न शिक्षिका सुशीला प्रसाईँले अनुरोध गरिन् ।

शिवसताक्षी नगरपालिकाको शैक्षिक गतिविधि र उपलब्धि
शिवसताक्षी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु आर्थिक वर्षमा शैक्षिक सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गरेको छ । शाखा प्रमुख छविलाल ढकालका अनुसार ’नगर स्मार्ट कार्यक्रम’ मार्फत विद्यालयका कक्षाकोठा र भित्रको सिकाइमा सुधार ल्याइएको छ । नगरभित्रका ३ वटा विद्यालयमा लिम्बू भाषा अतिरिक्त विषयका रूपमा पठनपाठन भइरहेको छ ।

स्मार्ट विद्यालय कार्यक्रम अन्तर्गत शिक्षक–कर्मचारीको क्षमता विकासका साथै नियमित मासिक तलब भुक्तानीको व्यवस्था मिलाइएको छ । शैक्षिक सुधारलाई प्रभावकारी बनाउन कार्यसम्पादन सूचकका आधारमा पूर्णकालीन प्रधानाध्यापक व्यवस्थापनको सुरुवात गरिएको शिक्षा अधिकृत ढकालले बताए । संस्थागत (बोर्डिङ) विद्यालयहरूले प्रदान गर्नुपर्ने कम्तीमा १० प्रतिशत छात्रवृत्तिलाई अनिवार्य कार्यान्वयनमा ल्याइएको छ भने सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको उपस्थिति इलेक्ट्रोनिक (डिजिटल) हाजिरीमार्फत अनुगमन र नियमन गर्ने गरिएको छ । यसबाहेक विद्यार्थीसँग सीप कार्यक्रम र एसईईका लागि कोचिङ कक्षा समेत सञ्चालन गरिएको छ ।

शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा शिवसताक्षी पालिकाभित्रका सामुदायिक विद्यालयतर्फ दुई जना विद्यार्थीले ४ जीपीए ल्याएर पालिकाकै गरिमा बढाएका छन् । ४ जीपीए ल्याउनेहरूमा शिवसताक्षी–७ स्थित भानु माध्यमिक विद्यालयकी छात्रा कञ्चन काफ्ले र वडा नं. ३ स्थित भानु माविका छात्र मञ्जिल नेपाल रहेका छन् । शैक्षिक सत्र २०८२ को एसईईमा पालिकाका विद्यार्थीहरूले समग्रमा ८०.०९ प्रतिशत नतिजा ल्याउन सफल भएका छन् भने पालिकाभित्रका १० वटा संस्थागत विद्यालयहरूले शतप्रतिशत नतिजा निकालेका छन् । धार्मिक विद्यालयतर्फ अनन्तादर्श वेद विद्यालयले लगातार शतप्रतिशत नतिजा निकाल्नु पालिकाकै लागि गौरवको विषय भएको ढकालले बताए ।

नगरपालिकाले ‘IEMIS’ सफ्टवेयरमार्फत सबै सामुदायिक विद्यालयको विवरण, गतिविधि र सूचना आदानप्रदान गरिरहेको छ, जसले विद्यालय र पालिकाबीच समन्वयको पुलको काम गरेको शिक्षकहरू बताउँछन् । पालिकाका सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला पु¥याउन सफल भएको र चालु शैक्षिक सत्र २०८३ बाट राष्ट्रिय रमणीय आदर्श माविमा विज्ञान संकाय सञ्चालन गर्न नगरपालिकाले प्रयोगशाला सामग्री सहयोग गरेको शाखा प्रमुख ढकालले जानकारी दिए । रिपोर्टिङका क्रममा केही विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई सरकारले दैनिक फरक–फरक परिकारको निःशुल्क खाजा दिने गरेको र विद्यार्थीहरू यसबाट निकै खुसी भएको पाइयो ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी
झापाका दमक र बिर्तामोड जस्तै शिवसताक्षी नगरपालिकाले पनि ४ वटा माध्यमिक विद्यालयमा विद्यालय नर्स सेवा उपलब्ध गराएको छ । राष्ट्रिय रमणीय आदर्श मावि, भानु मावि (लालझोडा), भगवती मावि र लालपानी माविमा स्टाफ नर्सहरू कार्यरत छन् । उनीहरूले विद्यार्थी घाइते हुँदा प्राथमिक उपचार गर्ने, बिरामी पर्दा औषधि दिने, स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य शिक्षा तथा सचेतनाका कार्यक्रम चलाउने गर्छन् । विशेष गरी किशोरीहरूलाई महिनावारी व्यवस्थापन र प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श दिन यो कार्यक्रम प्रभावकारी बनेको प्रधानाध्यापकहरू बताउँछन् ।

लालपानी माध्यमिक विद्यालयकी विद्यालय नर्स कृष्णा कार्कीले विद्यालयमा खेलकुदका क्रममा हुने चोटपटक, ज्वरो, टाउको दुखाइ, पेट दुखाइ तथा मानसिक स्वास्थ्य समस्याको समेत परामर्श र उपचार गर्ने गरिएको बताइन् । ‘यो सेवाप्रति विद्यार्थी, शिक्षक र अभिभावक सबैको सकारात्मक प्रतिक्रिया छ, त्यसैले यसलाई माध्यमिक तहमा मात्र सीमित नराखी आधारभूत र प्रावि तहका विद्यालयमा पनि विस्तार गर्नुपर्ने सुझाव आएको छ,’ नर्स कार्कीले भनिन् । उनले अचेल विद्यार्थीहरूमा मानसिक स्वास्थ्यको समस्या बढी देखिन थालेको समेत उल्लेख गरिन् । नेपालमा पहिलोपटक बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५-०७६ मा ’एक विद्यालय, एक नर्स’ अभियान सुरु गरेको थियो ।

चुनौती र बजेटको अवस्था
शिक्षाको गुणस्तर वृद्धिका लागि पर्याप्त रूपमा जनशक्ति परिचालन गर्न नसक्नु र केही भौतिक पूर्वाधारका संरचनामा सुधार ल्याउनु नै अहिलेको मुख्य चुनौती रहेको शिक्षा शाखा प्रमुख ढकालको भनाइ छ ।

नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारको ससर्त अनुदान ३२ करोड ३९ लाखसहित अन्य अनुदान गरी कुल ३५ करोड रुपैयाँ बराबरको बजेट शिक्षा क्षेत्रमा आएको छ, जुन पालिकाको कुल बजेटको करिब २९.८८ प्रतिशत हुन आउँछ । पालिकाले आफ्नो आन्तरिक आयबाट शिक्षा क्षेत्रका लागि २ करोड ६१ लाख रुपैयाँ (करिब ६ प्रतिशत) छुट्ट्याएको छ । बालविकास केन्द्रका शिक्षक र विद्यालय कर्मचारीहरूको न्यूनतम तलब भत्ता स्थानीय सरकारले नै बेहोर्नुपर्ने दायित्वका कारण वार्षिक १ करोड रुपैयाँभन्दा बढी खर्च हुने हुँदा शिक्षाका अन्य कार्यक्रमलाई प्राथमिकता दिन कठिन हुने शिक्षा शाखाले जनाएको छ ।

चुनौतीका बाबजुद शिवसताक्षी नगरपालिका शैक्षिक क्षेत्रमा निरन्तर अघि बढिरहेको छ, जसको एउटा उदाहरण हालै सम्पन्न जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी पालिका प्रथम हुनु पनि हो ।

शेयर गर्नुहोस :

0
Shares