दमक । झापाको दमक– ९ स्थित पूर्णिमा टोलकी एक दलित महिला माथि जातीय छुवाछूत तथा भेदभाव कसूर गर्ने सोही टोलकी सानु कुँवर धरौटीमा छुटेकी छिन् ।
दमक ९ को पूर्णिमा टोल बस्ने पञ्च देवी गजमेरलाई लामो समयदेखि पटक–पटक जातीय छुवाछूत गरी भेदभाव गर्दै सांघातिक आक्रमण गरेको आरोपमा पूर्णिमा टोलकी पीडक अन्दाजी ५५ वर्षीया सानु कुँवर ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेकी छन् । कुँवरलाई जिल्ला अदालत झापाले ५० हजार रुपैयाँ धरौटीमा गत असार १० गते छोडेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पीडित पञ्चदेवी गजमेरमाथि जातीय छुवाछूत र सांघातिक आक्रमण गर्ने कुँवरलाई जातीय छुवाछूत तथा भेदभाव कसूर र कुटपिट अंगभंग शिर्षकमा मुद्धा चलेको प्रहरी कार्यालय दमकले जनाएको छ । कुँवरको आक्रमणबाट पीडित गजमेरको हात भाँचिएको जाहेरीमा उल्लेख छ । पीडित गजमेरले भन्नुभयो – ‘२१ औं शताब्दीमा पनि दलितहरु जहिले पनि जातीय रुपमा दवावमा बस्नु पर्ने, विभेद खेपीरहनु पर्ने भएपछि पीडकको विरुद्ध जाहेरी दिएको छु । आशा छ मलाई अदालतले न्याय दिन्छ ।’
जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय ) ऐन ०६८ अन्तर्गत दर्ता भएको मुद्धामा पीडक धरौटीमा छुटे पनि अदालतको अन्तिम फैसला नभएसम्म मुद्धाको सुनुवाई जारी रहने अधिवक्ता नरेश खातीले बताउनु भयो । धरौतीमा छुट्नु भनेको अदालतमा उपस्थित हुने सर्तमा अस्थायी रुपमा रिहा हुनु मात्र भएको उहाँले बताउनु भयो । यो मद्धा जेठको दोस्रो सातातिर इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएको थियो ।
पीडक धरौटीमा छुटे पनि जिल्ला अदालतमा अभियोजन पक्ष र प्रतिवादी पक्षको बहस हुन्छ । प्रमाण, कागजात र साक्षीहरुको बयान लिने, जाहेरी , प्रहरी अनुसन्धान प्रतिवेदन, पीडित तथा साक्षीको बयान लगायतका प्रमाणहरुको परीक्षण गर्ने, सरकारी वकिलले अभियोग पुष्टि गर्ने प्रयास गर्ने, प्रतिवादी पक्षले आफ्नो बचाउ गर्ने हुन्छ । प्रमाणका आधारमा दोषी वा निर्दोष ठहर गर्ने अन्तिम फैसला अदालतले गर्नेछ ।







प्रतिक्रिया