Banner news

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा झापा एमालेद्वारा ‘स्मृति प्रतिभा प्रतियोगिता’

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा झापा एमालेद्वारा ‘स्मृति प्रतिभा प्रतियोगिता’


बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाले तत्कालिन महासचिव एवं जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा जिल्लाव्यापी रूपमा ‘स्मृति प्रतिभा प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ ।

नयाँ पुस्तामा मदन भण्डारीको जीवन, विचार, संघर्ष, योगदान र जनमुखी राजनीतिक दृष्टिकोणलाई सिर्जनात्मक ढङ्गले परिचित गराउने उद्देश्यका साथ एमाले झापाले यस वैचारिक तथा सामाजिक अभियानको थालनी गरेको हो । एमाले झापाका अध्यक्ष प्रेम गिरीका अनुसार ‘जननेता मदन भण्डारीलाई बुझौँ, सिर्जनामा उतारौँ’ भन्ने मूल नाराका साथ जिल्लाका सबै पालिका र वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

यस प्रतियोगितामा झापा जिल्लाका सबै पालिकाका वडामा बसोबास गर्ने र कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । जसमा प्रत्येक वडाबाट न्यूनतम पाँच जना विद्यार्थीको सहभागिता अनिवार्य गरिएको छ ।
प्रतियोगिताको स्वरूप अनुसार सहभागी विद्यार्थीहरूले जननेता मदन भण्डारीको चित्र वा तस्विरसहित ‘ए फोर’ साइजको कागजमा १०० शब्दभित्र उहाँको जीवनी, योगदान वा व्यक्तित्वबारे सिर्जनात्मक लेखन गृहकार्यको तरिकाबाट प्रस्तुत गर्नुपर्नेछ । यसरी तयार पारिने प्रस्तुतिमा विद्यार्थीहरूको मौलिकता, प्रस्तुति, विषयवस्तुको सान्दर्भिकता तथा सिर्जनात्मक पक्षलाई मुख्य प्राथमिकता दिइने एमाले झापाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीहरूका लागि आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसअन्तर्गत जिल्लाभरिबाट सर्वोत्कृष्ट हुने एक जनाले नगद १५ हजार रुपैयाँ र उत्कृष्ट हुने दुई जनाले जनही १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी झापाका प्रत्येक वडाका उत्कृष्ट एक–एक जना गरी कुल १३१ जना विद्यार्थीलाई सान्त्वना पुरस्कार स्वरूप जनही १ हजार रुपैयाँका दरले कुल १ लाख ३१ हजार रुपैयाँ वितरण गरिनेछ । सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कारको नगद , सबै सहभागीलाई प्रमाणपत्र एवं पुरस्कारको व्यवस्था जिल्ला कमिटी र सम्बन्धित वडा कमिटीको समन्वयमा मिलाइने जनाइएको छ ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन असार १४ गतेदेखि नै विशेष कार्यतालिका निर्धारण गरिएको अध्यक्ष गिरीको भनाई छ । असार १४ गते सबै पालिका कमिटीहरूले आ–आफ्नो कार्यालयमा मदन भण्डारीको फोटोमा माल्यार्पण सहित दिवस मनाएर सहभागी विद्यार्थीहरूको संख्या यकिन गर्नेछन् । त्यसपछि असार १५ देखि २२ गतेभित्रमा विद्यार्थीहरूबाट चित्र तथा जीवनी लेखन कार्य संकलन गरिनेछ र संकलित सामग्रीलाई असार २४ गते जिल्ला कार्यालयमा हस्तान्तरण गरिनेछ ।

असार २५ गतेदेखि साउन ३ गतेसम्ममा जिल्ला इन्चार्ज, पदाधिकारी र अनेरास्ववियुको नेतृत्वमा उत्कृष्ट प्रतियोगीहरूको छनोट प्रक्रिया अघि बढाइनेछ भने साउनको दोस्रोदेखि तेस्रो साताभित्रमा वडाका उत्कृष्ट र जिल्लाभरिकै सर्वोत्कृष्टहरूलाई औपचारिक रूपमा पुरस्कृत गरिनेछ ।

एमाले झापाका अध्यक्ष गिरीले यो कार्यक्रम एउटा प्रतियोगिता मात्र नभई जननेता मदन भण्डारीको वैचारिक योगदानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने एउटा महत्वपूर्ण राजनीतिक–वैचारिक अभियान भएको बताउनुभएको छ । उहाँले यस अभियानलाई उच्च प्राथमिकताका साथ प्रभावकारी व्यवस्थापन र सफल कार्यान्वयन गर्न जिल्लाका सम्पूर्ण पालिका तथा वडा कमिटीहरूलाई विशेष निर्देशन समेत दिनुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares