बिर्तामोड, १२ असार – बिर्तामोड नगरपालिकाले ‘मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत वडा नं. ९ मा रहेको पञ्चकन्या महिला समूहलाई बाख्रा वितरण गरेको छ।
आज आयोजित संक्षिप्त कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समूहका १५ जना सदस्यलाई प्रतिव्यक्ति तीन वटाका दरले जम्मा ४५ वटा बाख्रा र एउटा बीउ बोका हस्तान्तरण गर्नुभयो।
कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता शिवाका अनुसार बाख्राहरू बिर्तामोड २ स्थित ओम नवज्योति कृषक समूहबाट ल्याएर पञ्चकन्या महिला समूहलाई वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत एउटा समूहलाई बाख्रा उपलब्ध गराइएपछि एक वर्षपछि ती बाख्राबाट जन्मिएका सोही संख्याका पाठापाठी अर्को समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको छ। वितरण गरिएका बाख्राको बीमा खर्च समेत नगरपालिकाले नै व्यहोर्दै आएको छ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको वार्षिक कार्यक्रमअन्तर्गत बाख्रा तथा बंगुर ‘साटा–साट’ कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले बाख्रापालन आयआर्जनको प्रभावकारी माध्यम भएकाले व्यवसायलाई लगनशीलतापूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख नगेन्द्र खड्काका अनुसार नगरपालिकाले हालसम्म १८ वटा समूहलाई ३६० वटा बाख्रा वितरण गरिसकेको छ।

बाख्रा वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईंसहित स्थानीयवासीको उपस्थिति रहेको थियो।







प्रतिक्रिया