Banner news

शिवसताक्षीमा विकास निर्माणको लहर : चक्रपथदेखि शैक्षिक र स्वास्थ्य पूर्वाधारसम्म

शिवसताक्षीमा विकास निर्माणको लहर : चक्रपथदेखि शैक्षिक र स्वास्थ्य पूर्वाधारसम्म


मनकुमार गदाल

झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय सरकार र विभिन्न मन्त्रालयको लगानीमा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढेका छन् । नगरका दशवटै वडालाई एउटै यातायात सञ्जालमा जोड्ने चक्रपथ निर्माण, सडक कालोपत्रे, पुल–पुलेसा, स्वास्थ्य चौकी र विद्यालय भवन निर्माणले यतिबेला नगरको मुहार बदलिँदै गएको छ ।

शिवसताक्षी नगरका दशवटै वडाको गन्तव्यमा पुग्न सहज हुने पालिकाको गौरवको आयोजना अन्तर्गत चक्रपथ सडक (रिङ रोड) को कालोपत्रे निर्माण कार्यलाई तीव्र गति दिइएको छ । नगरपालिकाको लगानीमा निर्माण भइरहेको यस आयोजना अन्तर्गत हाल सडकको ग्रेडिङ र बेस तयारी जस्ता पूर्व–तयारीका कामहरू धमाधम भइरहेका छन् । पूर्व–पश्चिम राजमार्गको शिवसताक्षी–१० स्थित माईधारदेखि धरमपुरसम्मको यो चक्रपथ सडक शिवसताक्षी नगरको एउटा महत्वपूर्ण वैकल्पिक सडक हो । निर्माण व्यवसायीका अनुसार सडकको धुलो सफा गरेर करिब एक साताभित्रै कालोपत्रे (पिच) गर्ने काम सुरु हुनेछ ।

यो चक्रपथ सडकबाट स्थानीय नगरबासी मात्र नभएर झापा बाहिरका इलाम लगायतका पहाडी जिल्ला र छिमेकी देश भारतको सिलिगुडी, पानीट्याङ्की, दार्जिलिङ, सिक्किम तथा दक्षिणी भारतको गलगलिया सम्मका क्षेत्रका यात्रीहरू लाभान्वित हुने स्थानीय सैनिक टोलका बासिन्दा पदमलाल अधिकारी बताउनुहुन्छ । अर्का स्थानीय उमाकान्त भट्टराईका अनुसार यस चक्रपथ सडक हुँदै तल–तलको बाटो प्रयोग गरेर मोरङको विराटनगर आवतजावत गर्न सबैलाई धेरै सजिलो भएको छ । झापाको शिवसताक्षी नगरपालिकाको वडा नं. १, २, ३, ४, ९ र १० लाई समेट्ने यस सडकको लम्बाई ७ किलोमिटर र चौडाई साढे ५ मिटर रहेको नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको परियोजना विवरण अनुसार रिङ रोड फेज–१३ अन्तर्गत वडा नं. ४, ९ र १० लाई समेट्ने सडक कालोपत्रेको जिम्मेवारी कान्काईस्थित रोनिक निर्माण सेवाले पाएको छ । इन्जिनियर कृष्ण राईका अनुसार पहिलो फेजको लागत १ करोड ४९ लाख ६० हजार ५३४ रुपैयाँ र दोस्रो फेजको ५ करोड ८ लाख ५२ हजार २७४ रुपैयाँ गरी कुल लागत ६ करोड ५७ लाख ८२ हजार ८०९ रुपैयाँ (भ्याट र पीएससहित) रहेको छ । २०८२ चैत २५ गते सम्झौता भएको यो आयोजना २०८३ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

यस सडकको निर्माणले स्थानीयवासीमा ठूलो उत्साह जगाएको छ । वडा नं. १० सेवारो चोक निवासी किराना पसल सञ्चालक शरण कुमारी योङहाङ लिम्बू आफ्नो घर पसल अगाडि चक्रपथ निर्माण भएकामा निकै खुसी हुनुहुन्छ । हाइवे सडकमा सवारी जाम भएका बेला यो चक्रपथ सडक उत्तम विकल्प बन्ने र सर्वसाधारणले ठूलो सुविधा पाउने उहाँको बुझाई छ । चक्रपथले आवतजावतमा सहजता ल्याए पनि उहाँले पानी निकासका लागि पक्की ढल बनाउन नगरपालिकाले ध्यान दिनुपर्ने र भविष्यमा सडक विग्रिँदा तत्काल मर्मत गर्न एउटा सडक मर्मत सम्भार कोषको स्थापना गर्नुपर्ने सुझाव समेत दिनुभएको छ । शिवसताक्षी नगरपालिकाले यस चक्रपथलाई क्रमशः स्तरोन्नति गर्दै नगरभित्रको यातायात सञ्जाललाई थप व्यवस्थित, सरल र सुरक्षित बनाउने दीर्घकालीन लक्ष्य लिएको छ ।

बुद्ध चोक दक्षिणतर्फको सडक कालोपत्रे सम्पन्न

स्थानीयवासीको आवागमनलाई सहज बनाउने उद्देश्यले नगरपालिकाले शिवसताक्षी नगरपालिका–८ स्थित बुद्ध चोकको दक्षिणतर्फ (एसियन हाइवेसँग जोडिएको सडक) कालोपत्रे निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । परियोजना सूचना बोर्ड अनुसार यस सडक निर्माणको जिम्मेवारी त्रिदेव कन्स्ट्रक्सन (शिवसताक्षी–२, झापा) ले पाएको थियो । निर्माण कार्यका लागि २०८२ माघ २६ गते सम्झौता गरिएको थियो भने २०८३ असार ५ गतेभित्र काम सम्पन्न गर्ने समय तोकिएकामा निर्माण कार्य तोकिएकै समयभित्र सकिएको स्थानीय उपभोक्ता रामचन्द्र रोक्काले जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार यस सडक निर्माणमा भ्याट तथा पिएससहित कुल १९ लाख ७३ हजार ७९ रुपैयाँ २० पैसा खर्च भएको छ । योजना अन्तर्गत २० मिलिमिटर मोटाइको क्लोज–ग्रेडेड प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको हो । यस सडकको निर्माणपछि शिवगञ्ज, धरमपुर र लालझोडाका बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

सतासी खोलामा बक्स कल्भर्ट

शिवसताक्षी नगरपालिका–८ र ११ नम्बर वडाको सिमानामा पर्ने सतासी खोलामाथि बक्स कल्भर्ट निर्माण भएपछि स्थानीयलाई आवतजावतमा ठूलो राहत मिलेको छ । कल्भर्ट निर्माण भएसँगै दुवै वडाका बासिन्दा, विद्यार्थी, किसान तथा सर्वसाधारणको दैनिक आवतजावत सुरक्षित बनेको वडा नं. ११ का बासिन्दा राजेन्द्र न्यौपाने बताउनुहुन्छ । न्यौपाने विगतको स्मरण गर्दै भन्नुहुन्छ, ‘पहिले बक्स कल्भर्ट नहुँदा खोलामा बाढी आएको बेला ज्यान सुकाएर खोलापारि वडा नं. ८ मा रहेको झिलझिले माविमा पढ्न जानुपर्ने बाध्यता थियो, जुन अहिले सधैँका लागि अन्त्य भएको छ ।’

शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित ढुङ्गेल चोक पूर्व रहेको सतासी खोलामा बनेको यस बक्स कल्भर्टको कुल लागत ३३ लाख ३८ हजार ४उबअपबनभ ९८ रुपैयाँ रहेको छ र यसको निर्माण ठेक्का आर.सी.सी. कन्स्ट्रक्सन वर्कर्सले पाएको थियो । लामो समयदेखि उक्त क्षेत्रमा सुरक्षित र व्यवस्थित सडक संरचनाको आवश्यकता महसुस हुँदै आएको थियो । यद्यपि, नवनिर्मित संरचनाको सुरक्षाका लागि कल्भर्टको उत्तरतर्फ करिब १०० मिटर र दक्षिणतर्फ करिब १५० मिटर ढुङ्गासहितको तारजाली (ग्याबियन वाल) गर्न अति आवश्यक रहेको न्यौपानेको भनाइ छ ।

केही दिनमा ठूलो पानी परेमा तारजाली नलगाए कल्भर्टको जग नै बगाइदिने खतरा औँल्याउँदै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । बक्स कल्भर्टको दक्षिणपट्टि खोलाले पु¥याएको क्षतिका विषयमा नगरपालिकाको प्राविधिक शाखाका इन्जिनियर कृष्ण राईले स्थलगत अध्ययन गरेर तत्काल रोकथामको उपाय खोज्ने बताउनुभएको छ । कटान रोक्न वडा कार्यालयले चाल्ने कदमका बारेमा वडा नं. ८ का अध्यक्ष सन्त कुमार फेबदिन र वडा नं. ११ का अध्यक्ष श्री बहादुर आङ्बोले त्यहाँको अवस्थाको संयुक्त अध्ययन गरी नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराएर तत्काल रोकथाममा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

दुधे–शिवगञ्ज सडक र आरसीसी ढल निर्माण अन्तिम चरणमा

शिवसताक्षी नगरपालिकाको महत्वपूर्ण पूर्वाधार योजना अन्तर्गत निर्माण भइरहेको दुधे–शिवगञ्ज सडक कालोपत्रे तथा आरसीसी ढल (नाली) निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । यस सडकले स्थानीयवासीलाई सहज आवागमनका साथै बजार तथा कृषि उत्पादनको ढुवानीमा ठूलो राहत पु¥याउने स्थानीय उपभोक्ताहरूको बुझाइ छ । नगरपालिकाको लगानीमा निर्माणाधिन सडकको अधिकांश भागमा कालोपत्रे सम्पन्न भइसकेको छ भने सडकको दायाँ–बायाँ आरसीसी ढल निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको इन्जिनियर राईले जानकारी दिनुभयो । वर्षायाममा हुने जलमग्नता र सडक क्षति रोक्नका लागि ढल निर्माणलाई विशेष प्राथमिकता दिइएको छ ।

स्थानीयवासीका अनुसार यसअघि धुलो, हिलो र पानी जम्ने समस्याले दैनिक आवागमनमा ठूलो कठिनाइ हुने गरेको थियो । सडक कालोपत्रे भएपछि यातायात सञ्चालन सहज हुनुका साथै व्यापार व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । नगरपालिकाको लगानीमा निर्माण भइरहेको यस दुधे–शिवगञ्ज सडकको कुल लागत १ करोड २७ लाख ४३ हजार ६ सय ९६ रुपैयाँ रहेको छ भने सडकसँगै निर्माण भइरहेको आरसीसी ढलको लागत ७१ लाख ७६ हजार २ सय ८० रुपैयाँ रहेको छ । दुधे–शिवगञ्ज सडकको लम्वाई ६ सय ७० मिटर र चौडाई १० मिटर रहेको छ ।

निर्माण कार्यको जिम्मा गजनी कन्स्ट्रक्सन प्रालिले लिएको छ । हाल सडक कालोपत्रे कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ भने आरसीसी ढल निर्माणका बाँकी कामहरू अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी कम्पनीले जनाएको छ । अहिले सडक र ढल निर्माण सम्पन्न भएपछि आम उपभोक्तालाई स्थानीय व्यापार, कृषि उत्पादनको ढुवानी जस्ता कुरामा सहज भएको शिवसताक्षी–११ निवासी मौरीपालक किसान मनु अधिकारीले बताउनुभयो । दुधे–शिवगञ्ज सडक कालोपत्रे भएपछि यस क्षेत्रका बासिन्दाले आरामदायी यात्रा गर्न पाएको शिवसताक्षी–३ स्थित पाराबारी बस्ने सुजता भुषालको भनाइ छ । यसले स्थानीय व्यापार, कृषि उत्पादनको ढुवानी तथा पालिका लगायतका सरकारी कार्यालयको प्रशासनिक सेवा लिन आउने जाने सेवाग्राहीलाई धेरै लाभ पुगेको छ ।

पाराबारीमा आधारभूत स्वास्थ्य केन्द्रको नयाँ भवन

गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले शिवसताक्षी–३ स्थित पाराबारीमा आधारभूत स्वास्थ्य केन्द्रको दुई तले पक्की नयाँ भवनको निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्मित यस भवनका लागि कुल लागत ५६ लाख १६ हजार १ सय २१ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । भवन निर्माण सम्पन्न भए पनि कोठाहरूको सजावट र सिलिङ लगाउने काम भने अझै जारी रहेको छ । स्वास्थ्य केन्द्रको भवनको भुइँमा टायल लगाउन लगायतका केही फिनिसिङका कामहरू बाँकी रहेको र सो कार्य चाँडै सकिने आधारभूत स्वास्थ्य केन्द्रकी इन्चार्ज मनिका देवानले बताउनुभयो । यस भवन निर्माणको ठेक्का शिवसताक्षीकै मनकामना निर्माण सेवा कम्पनीले लिएको हो ।

स्वास्थ्य केन्द्रबाट हाल ओपीडी, खोप सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, सामान्य चोटपटकको उपचार, पोषण सेवा, बाल स्वास्थ्य, निःशुल्क औषधि वितरण र निःशुल्क गर्भवती जाँच लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रवाह भइरहेका छन् । सेवा लिन आएकी वडा नं. ३ की बासिन्दा रिता शाहले सामान्य समस्यादेखि ठूला समस्याको पनि यहाँ उपचार हुँदै आएको र यहाँ उपचार हुन नसके मात्र अन्यत्रका ठूला अस्पतालमा जाने गरेको बताउनुभयो । शाहसँगै सेवा लिन आएकी धनमाया बास्तोलाले पनि भवनको सबै काम सकिएपछि सेवा लिन झन् सजिलो हुने आशा व्यक्त गर्नुभयो । हाल यस स्वास्थ्य संस्थाबाट सुगर र प्रेसरको साधारण खाले मात्र औषधि वितरण भइरहेकाले अन्य कम्पोजिसन भएका निःशुल्क औषधिहरू पनि आधारभूत स्वास्थ्य केन्द्रबाटै वितरण हुनुपर्ने धेरै बिरामीको माग रहेको इन्चार्ज देवानले उल्लेख गर्नुभयो ।

स्थानीय आवश्यकतालाई महसुस गरेर शिवसताक्षी–३ को पारावारीमै अर्को दुई तले पक्की सामुदायिक भवनको निर्माण कार्य समेत सुरु गरिएको छ । महिला सचेतना सशक्तीकरण नेपालको सामुदायिक भवनका लागि सहरी विकास मन्त्रालय काठमाडौँले २५ लाख बजेट लगानी गरिदिएको संस्थाकी अध्यक्ष गोमा भुषालले बताउनुभयो । अहिले सामुदायिक भवनको भुइँतलामा पिलर मात्र उठाइएको छ र बाँकी भवनको निर्माण कार्य पूरा गराउन संघीय र स्थानीय सरकारसँग पहल भइरहेको अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

शैक्षिक पूर्वाधारमा जोड

शिवसताक्षी–८ को डुडामारी बजारमा रहेको भगवती आधारभूत विद्यालय र वडा नं. १० को श्रीजंग प्राथमिक विद्यालयमा भवनको अभावका कारण दुई तले ४ कोठे पक्की भवन निर्माण भइरहेको छ । ती विद्यालयको भवन निर्माणको ठेक्का आगेजुङ कन्स्ट्रक्सन प्रालि काठमाडौँले पाएको छ । योजना सूचना बोर्डको विवरण र स्थलगत अवलोकन गर्दा हालसम्म भवन निर्माणको काम आधा मात्रै भएको र सुस्त गतिमा अघि बढेको देखिन्छ । सूचना बोर्डमा भने असार १० गते नै निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको थियो ।

भवन निर्माणमा ढिलाइ हुँदा विद्यालय क्षेत्रमा पानी जम्ने, एउटै कोठामा दुईवटा कक्षा सञ्जाल गरेर पढाउनुपर्ने बाध्यता रहेको र बालबालिकाहरू पानीमा डुब्ने, हिलोमा लड्ने र चोटपटक लाग्ने जस्ता गम्भीर समस्या रहेको श्रीजंग प्राविकी प्रधानाध्यापक अञ्जु कुमारी गौली योङहाङले गुनासो गर्नुभयो । भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक टेक बहादुर थापा मगरको पनि भवन निर्माण ढिलाइ प्रति उस्तै गुनासो छ । पुरानो भवन साह्रै जीर्ण भएका कारण एउटै कोठामा दुई कक्षा सञ्चालन गरिरहनु परेको प्रधानाध्यापक मगरले बताउनुभयो । आगेजुङ कन्स्ट्रक्सन प्रालिले भगवती आविमा भवनको छत ढलाइ गरिसकेको छ भने श्रीजंग विद्यालयमा केही दिनमा भवनको छत ढलाइ गर्ने जनाएको छ । श्रीजंगको भवन निर्माणको सम्झौता रकम ४२ लाख ७४ हजार ४ सय ९४ रुपैयाँ र भगवती आधारभूत विद्यालयको निर्माण सम्झौता रकम ४३ लाख २ हजार १ सय ४९ रुपैयाँ रहेको सूचना बोर्डमा उल्लेख छ ।

भवन निर्माण ढिलाइ हुनुको कारणबारे बुझ्दा, भारतीय कामदारहरू गत चैतको अन्तिम साता विधानसभाको निर्वाचनका लागि २०–२२ दिन घर बिदामा गएको र यस क्षेत्रमा उत्पादन भएको क्रसरको गिटी एसियन हाइवे निर्माणमा लगिएपछि स्थानीय बजारमा अभाव सृजना भएकाले काम ढिलो भएको आगेजुङ कन्स्ट्रक्सन प्रालिका कार्यकारी निर्देशक चेतन लिङ्देनले स्पष्ट पार्नुभयो । यद्यपि, दुवै विद्यालयको भवन निर्माणको काम आउँदो असार मसान्तसम्म दिनरात गरेर भए पनि सम्पन्न गर्ने प्रतिबद्धता कार्यकारी निर्देशक लिङ्देनले व्यक्त गर्नुभएको छ ।

यता, नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले वडा नं. ८ को सतासी खोलाको कल्भर्ट अवलोकन गरी कटान नियन्त्रणको प्रयास गर्ने र महिला सशक्तीकरणको भवन निर्माणका लागि बजेट छुटाउन पहल गर्ने आश्वासन दिनुभएको छ । साथै, भगवती आवि र श्रीजंग प्रावि विद्यालयको भवनको काम छिटो सक्न निर्माण कम्पनीलाई कडा ताकेता गरिरहेको उपप्रमुख कार्कीले बताउनुभयो । सम्पूर्ण प्रयास र प्रक्रिया पूरा गर्दा पनि समयमै भवन निर्माण सकिएन भने अन्तमा निर्माण व्यवसायीको भुक्तानी रोक्का गर्ने चेतावनी समेत उहाँले दिनुभएको छ ।

कन्या गुरुकुल र ‘स्मार्ट विद्यालय’ कार्यक्रम

शिवसताक्षी नगरपालिकाले वडा नं. १० मा रहेको कन्या गुरुकुलमा नयाँ एकतले पक्की भवन निर्माण कार्य सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिकाको ६१ लाख ९६ हजार ७१ रुपैयाँको लगानीमा सो पक्की भवन निर्माण गरिएको हो । २४ दशमलव ६४ वर्गमिटर लम्बाई रहेको भवन निर्माण सम्पन्न भएसँगै गुरुकुलमा अध्ययनरत छात्रा तथा धार्मिक शिक्षा ग्रहण गर्ने विद्यार्थीहरूलाई आवश्यक भौतिक संरचना उपलब्ध भएको गुरुकुल व्यवस्थापनले जनाएको छ । नयाँ भवनले पठनपाठन, धार्मिक अनुष्ठान तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न ठूलो सहजता ल्याउने विश्वास गरिएको छ ।

यसका साथै, नगरभरिका १० वटै वडामा विद्यालयहरूको शैक्षिक सुधारका लागि ’विद्यालय नगर स्मार्ट कार्यक्रम’ सञ्चालन गरिएको छ । यस कार्यक्रम अन्तर्गत विद्यालयहरूमा फल्स सिलिङ लगाउने, कक्षाकोठाहरूमा बुक कर्नर दराज तथा टेबल व्यवस्थापन गर्ने, ल्यापटप प्रदान गर्ने र सुरक्षाका लागि सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ । त्यसका लागि भौतिक पूर्वाधार शीर्षकमा नगरपालिकाले ५९ लाख ७ हजार ३ सय ४८ रुपैयाँ लगानी गरेको प्राविधिक शाखाका इन्जिनियर उत्तम बरालले जानकारी दिनुभयो । यसरी चौतर्फी रूपमा भइरहेका विकास निर्माणका कामले शिवसताक्षी नगर क्षेत्रभित्र सकारात्मक परिवर्तनको सङ्केत देखाएको छ ।

शेयर गर्नुहोस :

0
Shares