विराटनगर, १३ असार – विराट मेडिकल कलेज विराटनगरमा नेपालमै पहिलो पटक विकरणित रगत (इरेडिएटेड ब्लड) उपलब्ध गराउने सेवा प्रारम्भ गरेको छ ।
रेडिएसन प्रविधि प्रयोग गरेर रगतमा भएका हानिकारक (टिलिम्फोसाइट) लाई नष्ट गरी तयार गरिएको यो विशेष रगतले क्यान्सरका बिरामी, प्रत्यारोपण आवश्यक परेका तथा गरेका बिरामी र अन्य गम्भीर रोगका रोगीहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले हस्पिटलले यो सेवा सुरु गरेको रक्त सञ्चार विशेषज्ञ डा विपीन नेपालले जानकारी दिनुभयो ।
डा . नेपालका अनुसार जब बिरामीलाई सामान्य रगत चढाइन्छ, तब रगत दिने व्यक्तिको रगतमा भएको कोषिकाहरूले रोगीको शरीरको कोषिकाहरूलाई फरक मान्छन् । त्यसपछि दाता रगतको कोषिकाहरू बिरामीको शरीरको विरुद्ध लडाइँ गर्न सुरु गर्छन् । यसले रोगीको शरीरमा गम्भीर समस्या र जटिलता सिर्जना गर्ने समस्या देखिनसक्छ । “विकरणित रगतमा यो समस्या आउँदैन किन भने रेडिएसन प्रविधि प्रयोग गरेर दाता ब्लडबाट टिलिम्फोसाइट निष्क्रिय गरिन्छ”, उहाँ भन्नुहुन्छ ।
त्यसैले दाता रगतको कोषिकाहरू बिरामीको शरीरको विरुद्ध आक्रमण गर्न सक्दैनन् । त्यसकारण विकरणित रगत बिरामीमा चढाउँदा यो खतरा हुँदैन र बिरामी सुरक्षित रहने रक्तसञ्चार विशेषज्ञ डा नेपालको भनाइ छ ।
सम्पूर्ण रगत रोग तथा रगत क्यान्सरका बिरामी, बोनम्यारो, मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी, जन्मजात इम्युन कमजोर भएका बिरामीहरूलाई यसले फाइदा गर्ने रक्तक्यान्सर तथा रगत रोग विशेषज्ञ डा विकासकुमार शाहले बताउनुभयो ।
यो सेवा सुरु भएपछि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पूर्वी नेपालका विकरणित रगत आवश्यक भएका बिरामीहरूलाई धेरै लाभ मिल्ने अस्पतालले जनाएको छ ।






प्रतिक्रिया