मुख्य समाचार

लागूऔषधविरुद्ध झापा अभियानअन्तर्गत अर्जुनधारामा पोस्टर क्याम्पियन

लागूऔषधविरुद्ध झापा अभियानअन्तर्गत अर्जुनधारामा पोस्टर क्याम्पियन


झापा, १३ असार । ‘लागू औषध विरुद्ध झापा अभियान (Jhapa Action Against Narcotics–JAAN)’ अन्तर्गत अर्जुनधारा नगरपालिकामा एक विशेष पोस्टर क्याम्पियन कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा शनिबार अर्जुनधारा नगरपालिका वडा नं. ८ स्थित नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको शुभारम्भ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले नगर प्रमुख तामाङलाई अभियानसम्बन्धी पोस्टर हस्तान्तरण गरेर गर्नुभएको थियो।

कार्यक्रममा नगर उपप्रमुख, विभिन्न वडाका जनप्रतिनिधिहरू, प्रहरी अधिकृतहरू, स्थानीय शैक्षिक संस्थाका प्रमुखहरू, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानीयवासीसहित करिब दुई सय जनाको उल्लेखनीय सहभागिता रहेको थियो।

सोही अवसरमा लागू औषध दुर्व्यसनका विरुद्ध समुदायमा सचेतना फैलाउने उद्देश्यले कदम थिएटरका कलाकारहरूद्वारा एक चेतनामूलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो। दीपक खरेलको निर्देशनमा तयार पारिएको ‘लौ आयो ताजा खबर’ नामक उक्त नाटकले उपस्थित दर्शकहरूलाई लागू औषधको गम्भीर असर र यसबाट बच्ने उपायबारे सन्देश दिएको थियो।

अभियान र सचेतनामूलक कार्यक्रमले समाजमा बढ्दै गएको लागू औषध दुर्व्यसन नियन्त्रण गर्न तथा समुदायस्तरमा व्यापक जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

शेयर गर्नुहोस :

0
Shares