झापा । सवारी दुर्घटना न्यूनिकरण र सडक अनुशासन कायम गराई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले झापाको बुद्धशान्तिमा विशेष स्वास्थ्य तथा चेकिङ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोष्ट बुधबारे र महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारेको संयुक्त सहकार्यमा सोमबार बुद्धशान्ति गाउँपालिका वडा नं.–३ स्थित मेची राजमार्गको कालीखोलामा उक्त कार्यक्रम गरिएको हो ।

विशेष अभियान अन्तर्गत मेची राजमार्गमा चल्ने दुई पाङ्ग्रे, चार पाङ्ग्रे र ट्याक्टरका चालकहरुको स्वास्थ्य परीक्षण, लागू पदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको थियो । त्यस क्रममा कुल २०० वटा सवारी साधनका चालकहरूलाई चेकजाँच गर्दा ब्रेथलाईजरको माध्यमबाट ५ जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

यस्तै, शंकास्पद देखिएका २९ जना चालकहरूलाई विशेष ‘लापसे किट’ मार्फत जाँच गर्दा २ जना चालकले प्रतिबन्धित लागूऔषध सेवन गरेर सवारी साधन चलाएको पुष्टि भएको छ । लागूऔषध सेवन गरेको पुष्टि भएका ती चालकहरूलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी झापा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।







प्रतिक्रिया