बिर्तामोड । झापाको बिर्तामोडस्थित कनकाई अस्पतालले विभिन्न स्वास्थ्य सेवा विस्तार तथा विशेष छुटको घोषणा गरेको छ। अस्पतालले आफ्नो स्थापना भएको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको अवसरमा बिरामीलाई लक्षित गरी आजको मितिदेखि एक सातासम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने जनाएको छ। साथै अन्य उपचार तथा विभिन्न परीक्षण सेवामा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष युवराज डाँगीले बताए ।
अस्पतालको सेवा थप प्रभावकारी बनाउन सिटी स्क्यान सेवा सञ्चालनको तयारी पनि अघि बढाएको छ । साथै त्यसका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अगाडि बढिसकेको र छिट्टै सेवा सञ्चालनमा ल्याइने अध्यक्ष डाँगीले बताए । त्यसैगरी बिरामी तथा सेवाग्राहीको सहजताका लागि अस्पतालको चारतले भवनमा आधुनिक लिफ्ट जडान गरी छिट्टै सञ्चालनमा ल्याइने उनको भनाई छ ।

अस्पतालले विभिन्न विधाका दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याउँदै सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ। दीर्घकालीन विकास योजनाअन्तर्गत बिर्तामोड–६ बुट्टाबारीस्थित अस्पतालकै स्वामित्वमा रहेको जग्गामा अत्याधुनिक नयाँ अस्पताल भवन निर्माणको तयारीसमेत अघि बढाएको उनले बताए । कनकाईमा फिजिसियन , बालरोग, महिला तथा प्रसूति , हाडजोर्नी, मानसिक तथा नशारोग , सर्जरी , मुटुरोग , नाक कान घाँटीलगायतका विशेषज्ञ चिकित्सकहरूको सेवा उपलब्ध रहेको छ ।
कनकाई बिर्तामोडको दोस्रो अस्पताल हो । २० वर्ष पूरा गरेर २१ वर्षमा प्रवेश गर्दा कनकाई कुल ओपीडी ३ करोड ६५ लाखभन्दा बढी, ल्याब परीक्षण ३ करोड ४७ लाखभन्दा बढी, आकस्मिक कक्ष सेवा २ लाख ५८ हजार ५५५, फिजियोथेरापी ३ लाख ३ हजार २४६, मेजर अपरेशन ५९ हजार १९९, माइनर अपरेशन ५५ हजार ७६७, भर्ना भएका बिरामी ४२ हजार ९९७, प्रसूति सेवा १४ हजार ८९८ जनाले लिएको जनाइएको छ ।







प्रतिक्रिया