Banner news

रोमाञ्चक जितसहित ब्राजिल अन्तिम १६ मा

रोमाञ्चक जितसहित ब्राजिल अन्तिम १६ मा


काठमाडौं। इन्जुरी समय सकिन एक मिनेट बाँकी रहँदा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जापानविरुद्ध २–१ को रोमाञ्चक जित दिलाएका छन्।

अन्तिम क्षणमा आएको यो गोलसँगै पाँच पटकको विश्वविजेता ब्राजिल विश्वकपको राउन्ड अफ ३२ बाट प्रि क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिल दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको थियो। प्रशिक्षक कार्लो एन्सेलोटीले लुकास पाकेटाको स्थानमा युवा फरवार्ड एन्ड्रिकलाई मैदानमा उतारेपछि टोलीको खेलमा सुधार भएको हो।

दोस्रो हाफको सुरुदेखि नै ब्राजिलले लगातार अवसर सिर्जना गर्‍यो। केही उत्कृष्ट अवसर खेर गए पनि ५६औं मिनेटमा कासेमिरोले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए।

यसअघि पहिलो हाफको २९औं मिनेटमा जापानले सानोको गोलमार्फत अग्रता लिएको थियो। डानिलोबाट मिडफिल्डमा छुटेको बल सानोले नियन्त्रणमा लिएर कासेमिरोलाई पछि पार्दै पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार पोस्टको बायाँ तल्लो कुनाबाट जाली चुमेको थियो।

५५औं मिनेटमा कासेमिरोको नजिकबाट गरेको हेडरलाई तोमियासुले गोललाइनबाट फर्काए। त्यसलगत्तै गोलअगाडि भएको भिडन्तमा पनि उनले अर्को प्रहार रोके। तर त्यसको एक मिनेटपछि कासेमिरोले अन्ततः गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

बराबरी गोलपछि ब्राजिलले लगातार आक्रमण जारी राख्यो। ५९औं मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै दुई डिफेन्डरलाई छलाएर गरेको प्रहार पोस्टमा लागेर फर्कियो र जापानले खतरा टार्न सफल भयो।

खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको ९६औं मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।

शेयर गर्नुहोस :

0
Shares