मुख्य समाचार

भद्रपुरका सुमन बिमलीलाई ‘RAW Climate Award’

भद्रपुरका सुमन बिमलीलाई ‘RAW Climate Award’


भद्रपुर – भद्रपुरका कृषि प्राविधिक सुमन बिमलीले विश्वकै पहिलो कृषि गेम रियालिटी शो ‘‘रिभोल्युशनरी एग्रिकल्चर वार’’ (RAW) को पहिलो सिजनअन्तर्गत ‘RAW Climate Award’ को उपाधि चुम्न सफल भएका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित एक भव्य समारोहका बीच उनी यस विधामा विजेता घोषित भएका हुन्। वातावरण संरक्षणलाई मतदानसँग जोड्दै इतिहासमै पहिलो पटक भित्र्याइएको ‘वृक्षारोपणमा आधारित भोटिङ प्रणाली’ मार्फत सबैभन्दा बढी अंक प्राप्त गरेर बिमलीले यो सफलता हात पारेका हुन्।

उपाधि जितेर गृहजिल्ला फर्कने क्रममा उनलाई भद्रपुर विमानस्थलमा भव्य स्वागत र सम्मान समेत गरिएको छ। यसै प्रतियोगिताको अन्य विधातर्फ किसान समूहबाट लक्ष्मण केसी र कृषि प्राविधिक समूहबाट समृद्ध भन्तना विजेता बनेका छन्।

महानायक राजेश हमालले ‘महाहोस्ट’ को रूपमा सञ्चालन गरेको यो रियालिटी शो करिब सात वर्षको लामो अध्ययन, अनुसन्धान र तयारीपछि प्रसारणमा ल्याइएको हो। कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका गम्भीर चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएको यस कार्यक्रमले कृषिलाई समाजमा एक सम्मानित पेशाको रूपमा स्थापित गर्ने र किसानहरूलाई समाजको अग्रणी व्यक्तित्व बनाउने लक्ष्य राखेको छ।

यस ऐतिहासिक प्रतिस्पर्धामा भाग लिन देशका ७७ वटै जिल्लाबाट करिब १,६०० जना किसान तथा कृषि प्राविधिकहरूले आवेदन दिएका थिए , जसमध्ये विभिन्न कठिन चरणहरू पार गर्दै उत्कृष्ट प्रतिस्पर्धीहरू मात्र फाइनलसम्म पुग्न सफल भए।

शैलेश कँडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा तयार भएको ‘RAW’ ले एउटा प्रतियोगितामा मात्र सीमित नरहेर विभिन्न सामाजिक रूपान्तरणका अभियानहरू समेत चलाएको छ। कार्यक्रमअन्तर्गत विद्यालय जागरण अभियानमार्फत विद्यार्थीहरूलाई कृषि क्षेत्रका सम्भावना र अवसरबारे प्रेरित गरिएको थियो भने नेतृत्व अभियानमार्फत कृषिका मुद्दाहरूलाई नीति निर्माणको तहसम्म पुर्‍याउने प्रयास गरिएको थियो।

यसका साथै अन्तर्राष्ट्रिय मञ्चहरूमा २७ भन्दा बढी देशका प्रतिनिधिहरूका सामु नेपालको कृषि र किसानका आवाजलाई बुलन्द पारिएको थियो। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष अन्तरक्रिया गरी कृषि सचेतना फैलाउनुका साथै वातावरण संरक्षणका लागि प्रतिस्पर्धीहरूकै सहभागितामा २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपेर यस शोले एक उदाहरणीय कीर्तिमान समेत कायम गरेको छ।

 

शेयर गर्नुहोस :

0
Shares