बिर्तामोड । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका वडा नम्बर – ११ स्थित कालिका सिमसार जंगल क्षेत्रमा शंकास्पद अवस्थामा बसिरहेका युवाहरूलाई प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले मंगलवार पक्राउ गरेको हो ।
प्रहरी बरिष्ठ नायब निरीक्षक कुमार खड्काको कमाण्डमा खटिएको टोलीले जंगलमा चार जना पुरुषलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसक्रममा दुई जना फरार भएका छन् भने मेचीनगर–११ बस्ने २८ वर्षीय आकाश माङ्मु लिम्बु तुम्वापो र सोही स्थानका २७ वर्षीय देवी प्रसाद बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
पक्राउ परेकामध्ये देवी प्रसाद बस्नेत बसेको भुइँमा थिचेर लुकाई छिपाई राखेको अवस्थामा प्लास्टिकका २८ वटा साना पोकाहरू फेला परेका थिए । उक्त पोकाहरू खोतलेर हेर्दा लागुऔषध खैरो हेरोइन बरामद भएको हो । बरामद गरिएको लागुऔषध प्लास्टिकसहित ५ ग्राम २४० मिलिग्राम र प्लास्टिक बाहेक १ ग्राम ३१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
यस्तै, पक्राउ परेका अर्का युवक आकाश माङ्मु लिम्बु तुम्वापोको साथबाट प्रहरीले दुई थान मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ भने फरार अन्य दुई जनाको खोजी कार्य भइरहेको छ ।







प्रतिक्रिया