मुख्य समाचार

‘डङ्कीः सपनाको कालबाटो’ उपन्यास लोकार्पण

‘डङ्कीः सपनाको कालबाटो’ उपन्यास लोकार्पण


काठमाडौँ । अवैध र जोखिमपूर्ण बाटो (डङ्की रूट) भएर अमेरिका जाने नेपाली युवाहरूको त्रासद यात्रामा आधारित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कृतिकार डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार तथा उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी (पथिक) ले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरे ।

लोकार्पण कार्यक्रमका वक्ताहरूले ‘डङ्की’ उपन्यासले आप्रवासन, सपनाको खोजी र मानवीय संघर्षको यथार्थ चित्रण गरेको बताए । देशको यो जल्दोबल्दो र गम्भीर समस्यालाई साहित्यमार्फत उजागर गरेको भन्दै उनीहरूले यस विषयमा सरकारको समेत ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै आख्यानकार कृष्ण धरावासीले ‘डङ्की’ आद्योपान्त पठनीय आख्यान भएको उल्लेख गरे । आफ्नो उपन्यास ‘तल्लो बाटो’ (२०७४) र यसको विषयवस्तु मिल्दोजुल्दो भए पनि कथाशैली र दृष्टिकोण बिलकुलै फरक रहेको उनले बताए । आफूले जोखिमपूर्ण बाटोबाट अमेरिका पुगेका केही व्यक्तिहरूसँगको कुराकानीका आधारमा उपन्यास लेखेको भए पनि डा. गिरीले सम्बन्धित ठाउँमै पुगेर अध्ययन गरी लेखेकाले यो कृति बढी प्रामाणिक र जीवन्त बनेको धरावासीको भनाइ थियो ।

त्यस्तै पत्रकार तथा उपन्यासकार बसन्त बस्नेतले आजको समयमा अमेरिका नेपाली समाजका लागि एउटा देश मात्र नभएर मानसिक अवस्था बनिसकेको टिप्पणी गरे । उनले ‘डङ्की’ केवल उपन्यासका लागि मात्र नभएर पर्याप्त अध्ययन र अनुसन्धान गरेर लेखिएको एउटा उत्कृष्ट दस्तावेज भएको औँल्याए ।

साहित्यकार बिना थिङले यो उपन्यासले नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक धड्कनलाई गहिरोसँग समातेको धारणा राखिन् । निकै कष्टकर बाटोबाट अमेरिका जान बाध्य नागरिकको समस्याबारे समयमै समाधान खोजिनु आवश्यक रहेको उनको भनाइ थियो । समीक्षक राजकुमार बानियाँले ‘डङ्की’ लाई सामाजिक यथार्थमा आधारित समकालीन आप्रवासनको सशक्त आख्यानका रूपमा परिभाषित गरे । नेपालीको पीडा र विवशतामाथि लेखिएको यो कृतिले लेखक डा. चन्द्र गिरीलाई नेपाली साहित्यमा दह्रो ‘साहित्यिक नागरिकता’ दिलाएको उनले बताए । कार्यक्रममा कवि उषा शेरचन र प्रल्हाद पोखरेलले पनि पुस्तकको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

उपन्यासमा इलामका एक नेपाली युवकले अमेरिका पुग्न रोजेको अवैध ‘डङ्की रूट’ र त्यस क्रममा भोगेका भयानक कष्टहरूलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । लेखक डा. चन्द्र गिरीले ‘डङ्की’ केवल सीमा पार गर्ने यात्राको कथा मात्र नभएर मानिसको आशा, साहस, निराशा र आत्मसम्मानको कथा भएको बताए । विश्वभर भेटिएका नेपाली तथा अन्य आप्रवासीहरूको कारुणिक अनुभवले नै आफूलाई यो उपन्यास लेख्ने प्रेरणा दिएको उनले उल्लेख गरे ।

अमेरिकालाई कर्मथलो बनाएका वैज्ञानिक डा. गिरीका यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन् । बुकहिल पब्लिकेसनले बजारमा ल्याएको यस उपन्यासको मूल्य ७१७ रुपैयाँ तोकिएको छ ।

शेयर गर्नुहोस :

0
Shares