बिर्तामोड

तक्षशिला प्रोग्रेसिभ स्कुलमा इन्भेष्टिचर समारोह, क्याम्ब्रिज एजुकेसनल पार्टनर घोषणा

तक्षशिला प्रोग्रेसिभ स्कुलमा इन्भेष्टिचर समारोह, क्याम्ब्रिज एजुकेसनल पार्टनर घोषणा


बिर्तामोड । झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलले आफ्नो शैक्षिक यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । विद्यालयले आज विशेष समारोहका बीच ‘इन्भेष्टिचर समारोह–२०८३’ सम्पन्न गर्नुका साथै आफूलाई औपचारिक रूपमा ‘क्याम्ब्रिज इङ्गलिस एजुकेसनल पार्टनर’ घोषणा गरेको छ ।

सोही अवसरमा विद्यालयले प्रविधिमैत्री शिक्षाका लागि थ्रीडीआई , न्यूजिल्याण्डसँग रणनीतिक सहकार्यको महत्वपूर्ण सम्झौता समेत सफलतापूर्वक सम्पन्न गरेको छ । विद्यार्थी नेतृत्व विकास, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य तथा अत्याधुनिक शिक्षाको समन्वयमा केन्द्रित उक्त समारोहमा विभिन्न विशिष्ट अतिथिहरू, शैक्षिक व्यक्तित्वहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रारम्भ नवनिर्वाचित विद्यालय परिषद्–२०८३ का पदाधिकारीहरूको शपथ ग्रहण तथा पदस्थापन समारोहबाट गरिएको थियो । नवनिर्वाचित विद्यार्थी नेताहरूले जिम्मेवारी, अनुशासन, इमानदारिता तथा सेवाभावका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही क्रममा विद्यालयका विभिन्न विभागीय प्रमुख शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । जसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने विद्यालयको दीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको छ ।

समारोहको मुख्य आकर्षणका रूपमा रहेको क्याम्ब्रिज इङ्गलिस एजुकेसनल पार्टनरको घोषणाले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको अङ्ग्रेजी भाषा शिक्षाको प्रवद्र्धन गर्न र विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउन थप ऊर्जा प्रदान गरेको छ । उक्त ऐतिहासिक अवसरमा एलसीसीआई जीक्यूका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल – बेलायत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष डा. रोशन राठीले विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की तथा शैक्षिक निर्देशक डा. भिक्टर इग्रेसियस जोसेफलाई क्याम्ब्रिज इङ्गलिस एजुकेसनल पार्टनरको आधिकारिक प्लाक हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा क्याम्ब्रिज इङ्गलिस र तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा डा. रोशन राठी र डा. अञ्जली कार्कीले हस्ताक्षर गर्नुभएको थियो भने डा. भिक्टर इग्रेसियस जोसेफको विशेष उपस्थिति रहेको थियो । सो सहकार्यले विद्यार्थीहरूको अङ्ग्रेजी भाषा दक्षता अभिवृद्धि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिकाइ प्रणालीको विस्तारमा ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

शैक्षिक गुणस्तरलाई विश्वबजार सुहाउँदो बनाउने प्रयासस्वरूप कार्यक्रमकै क्रममा तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुल र थ्रीडीआई , न्यूजिल्याण्ड बीच पनि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतामा थ्रीडीआईका प्रतिनिधि तथा विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्कीले हस्ताक्षर गर्नुभएको थियो । यस सम्झौताले विद्यालयमा नवप्रवर्तन, डिजिटल प्रविधि तथा भविष्यमुखी शिक्षालाई थप प्रभावकारी रूपमा समावेश गर्ने बलियो आधार तयार गरेको छ ।
समारोहमा विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक तथा प्रविधिमूलक क्षमता प्रदर्शन गर्दै विभिन्न अत्याधुनिक परियोजनाहरूको प्रदर्शनी समेत प्रस्तुत गरेका थिए । प्रदर्शनीमा भर्चुअल रियालिटी , थ्रीडी प्रिन्टिङ, ड्रोन प्रविधि, रोबोटिक्स, वेब तथा एप विकास लगायतका विधा समेटिएका थिए, जसले विद्यालयले व्यावहारिक र अनुसन्धानमुखी शिक्षालाई प्राथमिकता दिएको प्रष्ट पार्छ ।

समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित बिर्तामोड नगरपालिका शिक्षा शाखाका उपसचिव तिलचन्द भण्डारी र विशेष अतिथिका रूपमा उपस्थित नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीले विद्यार्थीहरूलाई सम्बोधन गर्नुभएको थियो । उहाँहरुले विद्यार्थीहरुको चौतर्फी विकासमा ध्यान दिन अभिभावकहरुलाई सूझाव दिनुभएको छ । विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन, नैतिकता र उत्कृष्टताको मार्गमा अघि बढ्न प्रोत्साहन गर्नुभयो ।
आगामी दिनमा पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय, नवप्रर्वतनमुखी तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विश्वस्तरमा प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने दृढ प्रतिबद्धता विद्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares