Banner news

जनआदर्श माविमा तीन तले भवन शिलान्यास

जनआदर्श माविमा तीन तले भवन शिलान्यास


झापा । झापाको शिवसताक्षी नगरपालिका–६ शिवगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको तीन तले १८ कोठे आधुनिक विद्यालय भवनको बुधबार शिलान्यास गरिएको छ।

नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुने भवनको शिलान्यास कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की तथा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेलगायतले संयुक्त रूपमा गर्नुभएको हो।

निर्माण हुने भवन तीन तले हुनेछ। प्रत्येक तलामा ६ वटा गरी कुल १८ वटा कक्षाकोठा रहनेछन्। भवन निर्माण मापदण्डअनुसार प्रत्येक कक्षामा ४५ जना विद्यार्थी अध्ययन गर्न सक्ने व्यवस्था रहने भएकाले नयाँ भवनमा मात्र करिब ८१० जना विद्यार्थीले सहज रूपमा अध्ययन गर्न सक्नेछन्।

शिवसताक्षी नगरपालिकाका अनुसार भवन निर्माणको अनुमानित लागत भ्याटसहित ४ करोड ७० लाख ८३ हजार ९४५ रुपैयाँ ६८ पैसा रहेको छ। निर्माणको ठेक्का मक्सुद एमपी जेबीले ३ करोड ७९ लाख ६० हजार ४५६ रुपैयाँ १२ पैसामा प्राप्त गरेको छ। सम्झौताअनुसार निर्माण कम्पनीले १५ महिनाभित्र भवन निर्माण सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नेछ।

करिब ३ हजार ६७३ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवन १३३ फिट लम्बाइ र ३९ फिट चौडाइको हुनेछ। भवनमा छात्र र छात्राका लागि छुट्टाछुट्टै सुविधा सम्पन्न शौचालयसमेत निर्माण गरिनेछ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य राधाकृष्ण खनालले आफूले अध्ययन गरेको विद्यालयमै आधुनिक भवन निर्माण सुरु हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण विद्यार्थीहरूले लामो समयदेखि कठिनाइ भोग्दै आएको उल्लेख गर्दै आफ्नो विद्यार्थी जीवन र त्यसबेलाका शिक्षकहरूको पनि स्मरण गर्नुभयो।

भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले भवन निर्माणका लागि पहिलो किस्ताको चेक शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गर्दै नेपाल–भारतबीच विकास साझेदारीअन्तर्गत शिक्षा, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य भइरहेको बताउनुभयो। उहाँले निर्माण हुन लागेको विद्यालय भवनले स्थानीय बालबालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नगरप्रमुख मेगाहाङ थोप्राले नगरपालिकाले गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै भारतीय राजदूतावासबाट प्राप्त सहयोगको प्रभावकारी उपयोग गर्दै जन आदर्श माध्यमिक विद्यालयलाई नगरकै नमुना विद्यालयका रूपमा विकास गरिने बताउनुभयो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सन्थाल सांस्कृतिक नृत्य तथा राष्ट्रिय गीतमा आधारित नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए। कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छविलाल ढकालले गर्नुभएको थियो।

शेयर गर्नुहोस :

0
Shares