बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आगामी वर्ष जनता आवास कार्यक्रममार्फत ७० वटाभन्दा धेरै घर निर्माण गर्ने भएको छ । आवास विहीन नागरिकहरुलाई आवासको व्यवस्था गर्न नगरपालिकाले बजेट विनियोजन गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेद्रप्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८३-०८४ को बजेटमा १ करोड रुपैयाँ व्यवस्था गरिएको छ । नगरको १ करोड र संघीय सरकारको ८० लाखको लागतमा आगामी वर्ष जनता आवास निर्माण गरिने जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका तत्कालिन सभामुख देवराज घिमिरेको पहलमा जनता आवास निर्माणका लागि अघिल्लो बजेटमा ८८ लाख रुपैयाँ बिर्तामोडमा आएको थियो । चालु वर्षमा घिमिरेको पहलमा आएको ८८ लाख बराबरको घर र नगरको लगानीमा ३० वटा घर निर्माण गर्ने योजना थियो । संग्रौलाका अनुसार उक्त बजेट काटिएपछि यो वर्ष जनता आवास निर्माणको संख्या घटेको छ ।
बिर्तामोड नगरपालिकाले १ करोड ७२ लाखको ठेक्का खोलेर घर निर्माणको काम गरिरहेको छ । १ करोड ४० लाखमा ३० वटा घर निर्माण गर्न ठेक्का लागिसकेको जनाइएको छ । ३० वटामध्ये २९ वटा घर निर्माण भइरहेको । थप १ घरका लागि आवासविहीन नागरिक सम्पर्कमा नआएको बुझिएको छ । बिर्तामोड नगरपालिकाका सबै वडामा जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण भइरहेका छन् ।
बिर्तामोड नगरपालिकाका अनुसार २ कोठे, वरण्डा र भान्सा समेत भएको टिनको घर निर्माणको क्रममा रहेको बताइएको छ ।
यसअघि बिर्तामोड नगरपालिकाले वडा नं. ७ मा ३७ वटा घरको एकिकृत वस्ती नै निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । नगरका कार्यवाहक नगर प्रमुख संग्रौलाले एकीकृत वस्तीका ३७ घरसहित हालसम्म ६२३ वटा घर निर्माण गरिएको जानकारी दिनुभयो । ‘यो सरकारले ८८ लाख रुपैयाँ बजेट कटौती नगरेको भए अझ धेरै घरहरु बन्ने थिए’ उहाँले भन्नुभयो ।
कार्यवाहक नगर प्रमुख संग्रौलाले बिर्तामोड नगरपालिकाले आवास निर्माणमा ठुलो उपलब्धी हासिल गरेको बताउनुभयो । स्थानीय सरकारले नगरवासीलाई ठुलो संख्यामा आवास उपलब्ध गराउनु नागरिकप्रति हाम्रो जिम्मेवारी हो, उहाँले भन्नुभयो ।







प्रतिक्रिया