बिर्तामोड । बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा नतिजा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सिकाई सुधार अभियानलाई प्राथमिकता दिएको बिर्तामोड नगरपालिकाले नतिजामा सुधार आउन थालेको उपसचिव तिलचन भण्डारीले जानकारी दिनुभयो ।
न्यून सिकाई सुधार, अभिभावक सचेतना र न्यून उपस्थिति सुधार कार्यक्रमले सिकाईमा धेरै सुधार आइसकेको उपसचिव भण्डारीको भनाई छ । उहाँ अनुसार सिकाई सुधारका लागि नगरपालिकाले ठुलो लगानी गरेको छ । शिक्षा शाखाले दिएको जानकारी अनुसार कक्षा १–३ लाई ६० हजार, कक्षा १–५ लाई ८० हजार, कक्षा १–८ लाई १ लाख, कक्षा १–१०, ४–१० लाई १ लाख २० हजार र कक्षा १–१२ लाई १ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ । बजेट समेत व्यवस्था भएपछि सिकाई सुधारका लागि विद्यालयहरुले पनि नतिजा देखाउन थालेको उपसचिव भण्डारीले बताउनुभयो ।

बिर्तामोड नगरपालिकाले सिकाई सुधार, भौतिक पूर्वाधार र प्राविधिक सामग्री वितरण मार्फत शैक्षिक सुधार अभियानलाई क्रियाशिल बनाइरहेको छ । भौतिक पूर्वाधार तर्फ बिर्तामोडले अघिल्ला वर्षमा धेरै काम सम्पन्न गरिसकेको जनाइएको छ । उपसचिव भण्डारीका अनुसार साङगवेद मावि चारपानेमा पुस्तकालय र आईसीटी निर्माणका लागि २५ लाख रुपैयाँ खर्च गरिएको छ । यस्तै, गरामनीस्थित दुर्गा माविको ४ कोठे भवन निर्माण भइरहेको छ ।
नगरपालिकाले २ जना घुम्ती प्रशिक्षक मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई प्लम्विङ र वाइरिङको तालिम सञ्चालन गर्दै आएको छ । सबै सामुदायिक विद्यालयमा समय तालिका बनाएर प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गरिरहेको जनाईएको छ । विद्यार्थीहरुलाई समेत प्रविधि मार्फत सीप सिकाउने योजना अनुसार नै तालिम सञ्चालन गरिरहेको बताइएको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयलाई ल्यापटप वितरणको लागि तयारी गरेको छ । विद्यालयको समेत साझेदारीमा ल्यापटप वितरण गर्न लागिएको हो । यस्तै, दुर्गा माविका दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल प्रिन्टर खरिद गरिएको जनाइएको छ ।
महेन्द्र माविमा रहेको अटिमज कक्षा मर्मत गर्न ५ लाख ५० हजार, स्काउट कार्यक्रम सञ्चालन गर्न ३ लाख, अपांगता कक्षा व्यवस्थापनका लागि मोहनमाया मावि र विराट आविलाई १-१ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उपसचिव भण्डारीले जानकारी दिनुभयो ।
नगर शिक्षा शाखाले कक्षा १–८ को आचरण सचेतना पाठ्यक्रम परिमार्जन गर्दै कक्षा १–५ पाठ्यपुस्तक परिमार्जनको काम भइरहेको जनाएको छ । यस्तै, आधारभुत विद्यालयहरुलाई खानेपानी र विजुलीको लागि १५÷२० हजार रुपैयाँ सहयोग गर्ने गरिएको छ ।
लक्ष्मी मावि विरानलाई रंङरोगन गर्न १ लाख, मर्मत सम्भार तर्फ देवकोटा आविलाई १ लाख २० हजार र शहिद लक्ष्मी माविलाई शौचलाय मर्मतका लागि २५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
भौतिक पूर्वाधार, प्रविधि र ज्ञान सीपकै कारण पठनपाठन, सिकाईमा समस्या नहोस् भन्ने उद्देश्यले सहजीकरण गरिरहेको भण्डारीको धारणा छ । उनले बिर्तामोडको समग्र शिक्षा क्षेत्रमा सुधार ल्याएर सिकाई प्रणालीलाई थप व्यवस्थित गर्दै जाने बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारको लगानी बमोजिम परिणाम देखिन थालेको छ ।







प्रतिक्रिया