सरोज भट्टराई
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा नगर अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी दशैंभित्र अस्पताल सञ्चालनमा ल्याइने बताइएको छ ।
नगर अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराउन केही समय लागेको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । उहाँका अनुसार आवश्यक स्वास्थ्य उपकरण खरिदको प्रक्रिया अघि बढिसकेको छ र आगामी आर्थिक वर्षका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको छ ।
स्वास्थ्य नागरिकको आधारभूत अधिकार हो । नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नु राज्यको दायित्व मात्र नभई समृद्ध समाज निर्माणको महत्वपूर्ण आधार पनि हो । यही अवधारणालाई आत्मसात् गर्दै झापाको शिवसताक्षी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ । नगरवासीलाई आफ्नै स्थानीय तहबाट प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले स्वास्थ्य पूर्वाधार विस्तारदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालनसम्म विभिन्न प्रयासहरू गरिरहेको छ ।

नगरभित्रै विशेषज्ञ सेवासहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि नगरवासीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । यसबाट विशेषगरी आर्थिक रूपमा विपन्न नागरिक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाले प्रत्यक्ष लाभ पाउने विश्वास गरिएको छ ।
शिवगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । अस्पतालका डा. पंकजकुमार रामका अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक १५० भन्दा बढी र अन्य सेवामार्फत ५० देखि ६० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिइरहेका छन् ।
नगरपालिकाभित्र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तीन वटा स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् । धरमपुर स्वास्थ्य चौकी, पाँचगाछी स्वास्थ्य चौकी तथा अर्को धरमपुर क्षेत्रमा रहेको स्वास्थ्य संस्थामार्फत हजारौं नागरिकले नियमित रूपमा स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् । यी स्वास्थ्य चौकीहरूमा सामान्य उपचार, गर्भवती तथा सुत्केरी सेवा, परिवार नियोजन, नियमित खोप, पोषण परामर्शलगायतका सेवा उपलब्ध छन् ।
त्यसैगरी, स्वास्थ्य सेवाको पहुँच वडा तहसम्म विस्तार गर्ने उद्देश्यले वडा नम्बर १, ३, ५, ७ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । यी केन्द्रहरूले स्थानीय समुदायलाई प्राथमिक स्वास्थ्य सेवा, प्रारम्भिक स्वास्थ्य परीक्षण, सामान्य उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्दै आएका छन् ।
वडा नम्बर ९ र १० मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाइएको छ । शहरी क्षेत्रमा बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै स्थापना गरिएका यी केन्द्रहरूले समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । यसबाट नगरवासीको समय, श्रम र खर्चको बचत हुनुका साथै स्वास्थ्य सेवामा पहुँचसमेत विस्तार भएको छ ।
शिवसताक्षी नगरपालिकाभित्र एउटा आयुर्वेद औषधालय सञ्चालनमा रहेको छ । वडा नम्बर ११ स्थित दुधेमा रहेको उक्त आयुर्वेद औषधालयले विशेषगरी दीर्घरोगीहरूलाई सेवा प्रदान गर्दै आएको छ । औषधालयले घुम्ती शिविरमार्फत नगरका ११ वटै वडामा सेवा विस्तार गर्नुका साथै समय–समयमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा हालसम्म आयुर्वेद औषधालयबाट ६ हजार २६१ जनाले सेवा लिएका छन् । तीमध्ये ३ हजार ४९१ जनाले ओपीडी सेवा लिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ ।
त्यसैगरी, पञ्चकर्म तथा पूर्वकर्म सेवाबाट १ हजार ३०० जना, ज्येष्ठ नागरिक स्वास्थ्य सेवाबाट ३५० जना, स्तनपायी महिलासम्बन्धी सेवाबाट १५५ जना, गाउँघर क्लिनिक कार्यक्रममार्फत २६० जना तथा निःशुल्क स्वास्थ्य शिविरबाट ३५० जनाले सेवा लिएको दुधे आयुर्वेद औषधालयका कविराज निरीक्षक पोख्रेलले जानकारी दिनुभयो ।
आयुर्वेद औषधालयमा मधुमेह, पायल्स, ग्यास्ट्रिक, बाथलगायतका दीर्घरोगीहरू उपचारका लागि आउने गरेका छन् । लामो समयसम्म एलोपेथिक औषधि सेवन गर्दा पनि अपेक्षित सुधार नभएका बिरामीहरू पनि आयुर्वेद उपचारका लागि आउने गरेको औषधालयले जनाएको छ । उपचारका लागि आउने सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिँदै आएको छ ।
दुधे आयुर्वेद औषधालयले स्तनपायी आमा तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म सेवा, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शिवसताक्षी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको अर्को महत्वपूर्ण उपलब्धि नगरलाई पूर्ण खोपयुक्त घोषणा गर्नु हो । बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न सञ्चालन गरिएका नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएपछि नगरले पूर्ण खोपयुक्त स्थानीय तहको मान्यता प्राप्त गरेको हो । यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकको सामूहिक प्रयासको प्रतिफल हो ।
चालु आर्थिक वर्षमा नगर स्वास्थ्य शाखामार्फत विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि संघीय सरकारको सशर्त अनुदानतर्फ चार करोड ६६ लाख रुपैयाँ विनियोजन भएको थियो । यसका साथै नगरपालिकाले आफ्नै स्रोतबाट थप ७० लाख रुपैयाँ बजेट व्यवस्था गरेको थियो । उक्त बजेटबाट सुरक्षित मातृत्व, पोषण सुधार, खोप कार्यक्रम, नसर्ने रोगको पहिचान तथा नियन्त्रण, स्वास्थ्य सचेतना, किशोरकिशोरी स्वास्थ्य, परिवार नियोजन तथा अन्य जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
नगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । शिवसताक्षी नगरपालिकामा हाल ४१ जना महिला स्वास्थ्य स्वयंसेविका सक्रिय रूपमा कार्यरत छन् । उनीहरूले घरदैलोमै पुगेर स्वास्थ्य शिक्षा प्रदान गर्ने, गर्भवती महिलाको नियमित निगरानी गर्ने, खोप कार्यक्रममा सहजीकरण गर्ने, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी संकलन गर्ने तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आएका छन् । समुदाय र स्वास्थ्य संस्थाबीचको सेतुका रूपमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ ।
स्थानीय सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र पर्नु सकारात्मक पक्ष हो । स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति परिचालन, पर्याप्त बजेट विनियोजन तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिमार्फत शिवसताक्षी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय अभ्यास प्रस्तुत गरिरहेको छ । आगामी दिनमा नगर अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अझ प्रभावकारी र व्यापक बन्ने अपेक्षा गरिएको छ ।
स्वस्थ नागरिक नै समृद्ध नगर निर्माणको आधार हुन् । त्यसैले स्वास्थ्य क्षेत्रमा गरिएको लगानी खर्च नभई भविष्यप्रतिको लगानी हो । शिवसताक्षी नगरपालिकाले अघि सारेका यी प्रयासहरूले नगरवासीको जीवनस्तर सुधार गर्नुका साथै स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गर्न सकिन्छ ।







प्रतिक्रिया