Banner news

झापामा अनुगमनको नाममा गृहमन्त्री गुरुङको ‘स्टन्ट’

झापामा अनुगमनको नाममा गृहमन्त्री गुरुङको ‘स्टन्ट’


टिप्पणी/ प्रदीप परियार

बिर्तामोड । विराटनगर हुँदै पूर्व आएका गृहमन्त्री सुदन गुरुङ आइतवार साँझ झापा प्रवेश गरेर सोमवार दिनभर पूर्वीनाका क्षेत्रमा अवलोकनका लागि घुमफिर गरे । सोमवार दिनभर पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा घुमफिर गरेका गुरुङ साँझतिर जिल्ला प्रशासन, भद्रपुर भन्सार, जिल्ला प्रहरी कार्यालयको अनुगमनमा पुगे ।

सुरक्षा अधिकारीहरुले गृहमन्त्री गुरुङको तालिकाबारे बेखवर हुँदै उनैको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरु अघिपछि गरिरहे ।

आइतवार साँझ गृहमन्त्री गुरुङ चढेको गाडि बिर्तामोडबाट पूर्व लागेको भिडियो सार्वजनिक भएको थियो । सोमवार विहान उनी बसेको सालबारी हेरिटेज भिल्लाबाट बाहिर निस्कन लागेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि बुद्धशान्तिमा जेनजी घाइते परिवार भेटघाट गर्दै गहृमन्त्री काँकरभिट्टातिर लागे । काँकरभिट्टा जाने क्रममा जोरसिमल ओर्लिएर उनले सशस्त्र प्रहरीको चेकपोष्ट अवलोकन गरे । उनले चेकपोष्टप्रति असन्तुष्टी प्रकट गर्दै तत्काल हटाउन प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए ।

उनको भनाई थियो, यो तत्कालै हटाएर सीमानामै कडाई गर्नु । गृहमन्त्री गुरुङलाई मेचीपुलबाट मात्रै सामान भित्रिने लागेर सीमामा कडाई गर्नु भनेको हुन सक्छ । खुला सीमाका कारण जताततैबाट सामान भित्रिन सक्ने भएकाले सशस्त्र प्रहरीले जोरसिमलमा समेत जाँच गर्दै आएको थियो । कतिपयले जोरसिमललाई सुरक्षाकर्मीले ‘लाइन उठाउने’ जक्सनका रुपमा समेत व्याख्या गर्दै आएका छन् । सर्वोच्च अदालतले समेत हटाउन आदेश गर्दा सशस्त्र प्रहरीले नहटाएको चेकपोष्ट गृहमन्त्रीको निर्देशनपछि के होला ?

उक्त चेकपोष्टलाई गृहमन्त्री गुरुङले विजोग संरचनाको रुपमा व्याख्या गरिदिए । सुरक्षाकर्मीहरु विजोग अवस्थाबाट डिउटी गरिरहेकोले तत्कालै हटाउन भनिदिए । चेकपोष्टमा स्थानीय सरकार र प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने धारणा राखें । सुरक्षा चाहिने, सहयोग नगर्ने त भएन नि, उनले थपे ।

जोरसिमलको चेकपोष्ट नजिकै रहेको मेचीक्राउनको प्रभावमा हटाउन दवाव दिएको त्यो बेला चर्चा भएको थियो ।
त्यहाँबाट पूर्व लागेका गृहमन्त्री एकैछिनपछि कुकरलाई सुम्सुमाउदै गरेको भिडियोमा देखिए । सुरक्षाकर्मीले ल्याएको तालिमप्राप्त कुकुर डोहो¥याउन समेत भ्याएका गृहमन्त्री सीमा क्षेत्र, भन्सार कार्यालय पुगेर भेटेजति कर्मचारीलाई निर्देशन गरिरहे । वरिपरी भिडियो खिच्नेहरुको भीड देखेर गृहमन्त्रीको हाउभाऊ पनि कम आक्रमक थिएन । मेचीनगर क्षेत्रमा गृहमन्त्री पुगेपछि नगर उपप्रमुख मिना उप्रेती पोखरेलले स्वागत गर्न खादा उढाउने प्रयास गरिन् । खादा ओढाउने प्रयासलाई गृहमन्त्री गुरुङले सिधैं इन्कार गरिदिए । कतिपयले भदौं २३ र २४ गते जलाइएका निजी घर, सार्वजनिक सम्पत्तिहरुको अनुगमन गरेर सान्तवना दिन्छन् भन्ने अपेक्षामा समेत बसेका थिए । तर, गृहमन्त्री त्यसरी कतै पुगेनन् ।

त्यहाँबाट लगत्तै बाँहुनडाँगी पुगेका गृहमन्त्री गुरुङले दुरविनबाट जंगली हात्ती अवलोकन गरे । स्थानीयले आफ्नो समस्या सुनाउन राम्रोसँग पाएनन् । भिडियोमा पनि केही भन्न खोजिरहेका स्थानीयहरुलाई रोकेर उनले समस्या बुझ्न आएको भन्दै खरो प्रतिक्रिया दिइरहे । पहिले केहि नभएकै कारण अहिले समाधानका लागि बुझ्न आएको अभिव्यक्ति दिए । गृहमन्त्री गुरुङलाई स्थानीयले हात्ती नियन्त्रणका लागि सरकारले बजेटमा कुनै व्यवस्था नगरेको समेत गुनासो सुनाए । जसलाई गृहमन्त्री गुरुङले प्राथमिकता दिएनन् । हात्ती अवलोकनका लागि पुगेका गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी चढने गाडि मज्जाले हुइकाएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दिनभरको झापा घुमफिरमा गृहमन्त्रीको कुनै व्यवस्थित छलफल भएको पाइएन । आफ्नै तालमा विभिन्न ठाउँ पुगेका गृहमन्त्रीसँग सीमा क्षेत्रका अगुवाहरुले समस्या सुनाउन पाएनन् । काँकरभिट्टाका एक अगुवा भन्छन्, गृहमन्त्री पूर्व सीमाको समस्या बुझ्न आउनु भएको हो भने यहाँका सरोकारवालासँग बुझ्नुपर्ने हो । सिधा आँखाले हेरेर समस्या देखिदैन । स्थानीयबासीहरुले समस्या भोगिरहेका कारण स्थानीयसँग भलाकुसारी गर्नुपर्ने थियो ।

अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लाबाट सोमवार विहान निस्केपछि गृहमन्त्री गुरुङले अस्तव्यस्त रुपमा अवलोकन गरेको देखियो । उनको दिनभरको भिडियो हेरेर कतिपयले अनुगमनको नाममा ‘स्टन्ट’ मात्रै भन्ने प्रतिक्रिया दिए । यो टिप्पणी तयार गर्दा साँझ गृहमन्त्री भद्रपुर क्षेत्रमा थिए । उनी त्यहाँबाट सालबारी नै फर्किन सक्ने अनुमान गरिए पनि निश्चित गर्न सकिएन । दुई दिन अघिदेखि गृहमन्त्री झापा आउने चर्चा गरेर ‘छड्के अनुगमन’ भन्दै प्रचार गरिएको थियो ।

गृहमन्त्री गुरुङसँग प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी , राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे दिनभर साथमा थिए ।

सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचविखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको भनिएको छ । औपचारिक रुपमा यसबारे सञ्चारकर्मीहरुसँग गृहमन्त्री बोलेका छैनन् ।

शेयर गर्नुहोस :

0
Shares