बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाको नयाँ कार्यालय भवनमा रङ लगाउने क्रममा एक मजदुर तीन तला माथिबाट खसेर गम्भीर घाइते भएका छन् ।
आज बिहान करिब ९ः४० बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं. ५ स्थित पालिकाको प्रशासकीय भवनमा रङ लगाउने काम भइरहेको थियो । सोही क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ बस्ने ४२ वर्षीय टंक थापा भवनको तेस्रो तलाबाट तल खसेका हुन् ।

भवनबाट खसेका थापा भुइँमा रहेको फलामे ग्रिलमा अड्किएका थिए । ग्रिलमा अड्किएर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार घाइते थापाको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनको उपचारमा गाउँपालिकाका कर्मचारीले रेखदेख गरिरहेका छन् ।







प्रतिक्रिया