Banner news

झापामा ‘इको साइन’ लण्ड्री सेवा सञ्चालनको तयारी, दैनिक ३ हजार केजी कपडा धुने

झापामा ‘इको साइन’ लण्ड्री सेवा सञ्चालनको तयारी, दैनिक ३ हजार केजी कपडा धुने


बिर्तामोड । झापामा दैनिक ३ हजार केजीसम्म कपडा धुने क्षमता भएको इको साइन कमर्सियल एण्ड सेनिटाइजेसन सर्भिस सञ्चालनको अन्तिम तयारी गरिएको छ ।

झापाको अर्जुनधारामा ‘इको साइन कमर्सियल एण्ड सेनिटाइजेसन सर्भिस’ सञ्चालनको तयारी गरिएको हो ।
आधुनिक प्रविधिमा आधारित इको साइनले सुरुवाती चरणमा झापा, मोरङ, सुनसरी र इलामसम्म सेवा दिने भएको मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । इको साइनले असार २५ गते लण्ड्री तथा सेनिटाइजेसन सेवाको औपचारिक शुभारम्भ गर्ने जानकारी दिएको छ ।

कम्पनीका निर्देशक सोभित प्रसाईंका अनुसार दैनिक ३ हजार केजीसम्म कपडा धुने क्षमता रहेको अत्याधुनिक मेसिन जडान गरिएको छ । करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योगबाट प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाउने छन् ।

व्यवसायी उज्ज्वल उप्रेतीले सेवा सुरु भएसँगै ग्राहकले ५० मिनेटभित्र कपडा धुने सेवा प्राप्त गर्न सक्ने र २४ घण्टाभित्र डेलिभरी गरिने जानकारी दिए । उनले धुने क्रममा प्रयोग हुने पानीलाई चार चरणमा फिल्टर गरेर कपडा सफा गरिने जानकारी दिए । अत्याधुनिक प्रविधि र गुणस्तरीय केमिकलको प्रयोगले कपडाको धुलाई पनि गुणस्तर र सरसफाईयुक्त हुने जनाइएको छ ।

कम्पनीका सुरेश भण्डारीले कपडा सफाइ र सेनिटाइजेसनका लागि ६ प्रकारका विशेष केमिकल प्रयोग गरिने जानकारी दिए । केमिकल स्वास्थ्य तथा वातावरणमैत्री रहेको र कपडामा रहेका जीवाणु तथा भाइरसलाई सुरक्षित स्तरसम्म न्यूनीकरण गर्न प्रभावकारी हुने उनको भनाइ थियो ।

कम्पनीका अनुसार होटल, अस्पताल, बैंक, विद्यालय तथा अन्य संस्थागत ग्राहक यस सेवाका मुख्य लाभग्राही हुनेछन् । व्यावसायिक तथा घरायसी दुवै प्रयोजनका लागि गुणस्तरीय, छिटो र सुरक्षित लण्ड्री सेवा सुरु गर्न लागेको इको साइनले दुई वटा गाडि बजारमा परिचालन गर्ने जनाएको छ । सुरुवातमा संस्थागतबाट सेवा प्रारम्भ गर्ने कम्पनीले सञ्चालनको तीन महिनापछि अन्य नागरिकहरुलाई पनि सेवा प्रदान गर्ने छ ।

पूर्वमै पहिलो पटक अत्याधुनिक प्रविधि र ठुलो क्षमताको लण्ड्री सेवा सञ्चालन गर्न लागिएको अर्का साझेदार नवीन ढुङ्गानाले जानकारी दिए । कम्पनीले आधुनिक प्रविधिमार्फत कपडाको सरसफाइसँगै सेनिटाइजेसन सेवालाई प्राथमिकता दिँदै झापा क्षेत्रमा स्वच्छ र सुरक्षित लण्ड्री सेवाको नयाँ अभ्यास सुरु गरेको जनाएको छ ।
कम्पनीले विभिन्न क्षमताका ४ वटा मेसिनबाट स्टल गरिसकेको छ । सञ्चालकहरुले बजारको मुल्यभन्दा सहुलियतमा सेवा दिने योजना रहेको बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares