बिर्तामोड । झापाको बिर्तामोडमा सवारी दुर्घटना न्यूनिकरण र सडक अनुशासन कायम गराउने उद्देश्यका साथ आज एक विशेष चेकजाँच अभियान संचालन गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा संचालित उक्त बृहत चेकिङका क्रममा लागुऔषध र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरू पक्राउ परेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको समन्वयमा संचालित उक्त कार्यक्रमको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गरेको हो । अभियानमा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपालिका र यातायात व्यवस्था कार्यालय बिर्तामोडको समेत सक्रिय सहकार्य रहेको थियो ।
सडकमा सार्वजनिक यातायातलाई सुरक्षित बनाउने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले भाडामा चल्ने चार पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरूलाई लक्षित गरी यो चेकिङ गरिएको हो । सो क्रममा सवारी साधनहरूको यान्त्रिक अवस्थाको निरीक्षण गर्नुका साथै चालक तथा सह–चालकहरूको मादक पदार्थ र लागुपदार्थ सेवनको परीक्षण गरिएको थियो ।

अभियानका क्रममा जम्मा २०९ वटा सवारी साधनको विस्तृत चेकजाँच गरिएको थियो । ब्रेथलाइजरद्वारा परीक्षण गर्दा १ जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको थियो भने शंका लागेका चालक तथा सह–चालकहरूलाई लापसे किट मार्फत चेकजाँच गर्दा अन्य ५ जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको छ ।
मापसे र लापसे गरेको प्रमाणित भएका ती चालक तथा सह–चालकहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । बढ्दो सवारी दुर्घटना कम गर्न र चालकहरूलाई जिम्मेवार बनाउन आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइने झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।







प्रतिक्रिया