Banner news

झापासहित ७ जिल्लामा बर्डफ्लु पूर्ण नियन्त्रणमा

झापासहित ७ जिल्लामा बर्डफ्लु पूर्ण नियन्त्रणमा


बिर्तामोड – बर्डफ्लु फैलिएका ११ जिल्ला मध्ये तराईका ७ वटा जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको हो ।

तराईका ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा आए पनि काभ्रेसहित काठमाण्डौ उपत्यकामा जोखिम कायमै छ । काठमाण्डौका तीन जिल्ला र काभ्रेमा फैलिएको बर्डफ्लु रोकथाम हुन सकेको छैन ।

विभागले यी चार जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ ।

रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ । सङ्क्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छी र पन्छीजन्य बस्तु नष्ट गर्ने अभियान चलिरहेको छ ।

विभागको तथ्याङ्कअनुसार यसअघि सङ्क्रमण नियन्त्रणका लागि देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ ।

डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारिएको छ । यसकै आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा सङ्क्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि भइरहेको छ ।

शेयर गर्नुहोस :

81
Shares