बिर्तामोड । गृहमन्त्री सुदन गुरुङले काँकरभिट्टामा दुई डिएसपीको मोवाइल नियन्त्रणमा लिएको घटनालाई जिल्ला प्रहरी कार्यालय झापाले खण्डन गरेको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै झापा प्रहरीले सो विषयमाथि खण्डन गरेको हो ।
दुई दिनदेखि लगातार डिएसपीको मोवाइल नियन्त्रणमा लिएको भन्ने प्रचार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा भइरहेको छ । जिल्ला प्रहरीले यो विषयमा कुनै प्रतिक्रिया नदिँदा मोवाइल नियन्त्रणमै लिएको हो कि भन्ने विश्वास बढ्दै गइरहेको थियो । सोही विषयमा विज्ञप्ति मार्फत जिल्ला प्रहरीले नै खण्डन गरेको छ ।

गृहमन्त्री गुरुङले साच्चै मोवाइल नियन्त्रणमा लिएका थिए भने जिल्ला प्रहरीले खण्डन गर्न सक्ने अवस्था बन्ने थिएन । आफ्नै मन्त्रीले गरेको काममा प्रहरीले खण्डन गरेपछि मोवाइल नियन्त्रणमा लिएको घटना सत्य नभएको स्पष्ट भएको छ ।
गृहमन्त्री गुरुङलाई एक महिलाले सुरक्षाकर्मीले नै ‘लाइन’ चलाइरहेको विषयमा सडकमै पोल सुनाएकी थिइन् । उनले पोल सुनाउने क्रममा ३ जना सशस्त्र प्रहरीको नाम लिएकी थिइन् । जो तिनै जना जोरसिमल चेकपोष्टमा डिउटीमा खटिएका थिए । महिलाको कुरा सुने गलत्तै गृहमन्त्री गुरुङसँगै रहेका इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी निशेष चापागाई र सशस्त्रका डिएसपी विकास थापालाई तिनै जनालाई लिएर आउन तत्काल निर्देशन दिए । दुवै डिएसपी गृहमन्त्रीको आदेश मानेर जोरसिमलबाट तिनै जना सशस्त्र प्रहरीलाई लिएर काँकरभिट्टा पुगे ।
काँकरभिट्टामा गृहमन्त्री गुरुङले सिडिओ, एसपीसहित तिन जनालाई राखेर सोधपुछ गरेका थिए । सोधपुछपछि उनीहरुलाई पुनःडिउटीमा पठाइएको थियो । हाल उनीहरु डिउटीमै रहेका छन् । उनीहरुमाथि कुनै कारबाही भएको छैन । महिलाले पोल सुनाइरहेको भिडियो सार्वजनिक भएपछि उनै महिला वारीपारी ‘केरियर’ गर्ने आरोप लागेको छ ।
गृहमन्त्री गुरुङ जोरसिमल पुगेको ३-४ दिन अघि जोरसिमलमा सशस्त्र प्रहरीले वारीपारी गर्ने महिलाहरुको सामान नियन्त्रणमा लिएको थियो । २० जनाभन्दा बढी महिलाहरुले सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिएकोमा असन्तुष्टि जनाउदै आएका थिए । सामान नियन्त्रणमा लिएकै कारण गृहमन्त्रीलाई पोल सुनाएको हुन सक्ने अनुमान गरिएको छ । सोही विषय गृहमन्त्रीलाई समेत जाहेर गरेपछि उनीहरुलाई डिउटीमा खटाइएको थियो ।
मोवाइल नियन्त्रणमा लिएको भ्रमपूर्ण सूचना फैलाएर काँकरभिट्टा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीको मनोवल कमजोर बनाइएको जनाइएको छ । एक सुरक्षा अधिकृत भन्छन्, गलत हल्ला फैलाएर हाम्रो मनोवल कमजोर बनाउने काम भयो । काँकरभिट्टा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि नकारात्मक सन्देश दिने कुरा राम्रो भएन । उनी भन्छन्, गृहमन्त्रीले मोवाइल जफत गर्नुभएको थियो भने जिल्ला प्रहरीले कसरी होइन भन्न सक्थ्यो ? उनले अनावश्यक हल्ला फैलाएर टर्चर गर्ने काम भएको प्रक्रिया दिएका छन् ।
मोवाइल नियन्त्रणमा लिएको भन्ने विषयलाई गृहमन्त्रीको ठुलै काम मानेर रास्वपाका केन्द्रीय नेताहरुले समेतले सामाजिक सञ्जालमा फैल्याउने काम गरिरहेका छन् ।







प्रतिक्रिया