बिर्तामोड

‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले असार २६ गते

‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले असार २६ गते


बिर्तामोड । पूर्वकै चर्चित सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने भएको छ । कोशी प्रदेशस्तरीय प्रतियोगितामा फिजिकल अडिसनबाट छनोट भएका पाँच ब्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले प्रतियोगिताको विजेता ट्रफी सार्वजनिक गरेको छ । साथै, जगदम्बा मोटर्सको टिभिएस प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा रहने घोषणा गरिएको छ । आयोजक समितिका अध्यक्ष अमृत पौडेलले ‘झापा रकस्टार’ केवल प्रतियोगिता मात्र नभई संगीतप्रेमी र नयाँ प्रतिभालाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको बताए ।

कार्यक्रममा टिभिएसका नेसनल सेल्स हेड हरि न्यौपानेले प्रतियोगितामार्फत युवासँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै सोही अवसरमा टिभिएस अपाचे आरटीआर १६० को क्षेत्रीय (रिजनल) लन्चसमेत गरिने जानकारी दिए । उनले उत्कृष्ट एक ब्यान्डलाई टिभिएसको ब्रान्ड गीत निर्माण गर्ने अवसरसमेतप्रदान गरिने बताए ।

कार्यक्रम निर्देशक सुनिता तामाङका अनुसार प्रतियोगिताको फाइनलको तयारी अन्तिम चरणमा पुगेको छ । फाइनलमा आवाज ब्यान्ड (इलाम), यात्री ब्यान्ड (चारआली), बास क्लेफ ब्यान्ड (बिर्तामोड), राग भर्स (बिर्तामोड) र जेनियम ब्यान्ड (धुलाबारी) बीच प्रतिस्पर्धा हुनेछ। उनका अनुसार संगीतकार संजीव सुब्बा, गायक तथा संगीतकार सहदेव लामा र अर्जुन दाहाल फिनालेका निर्णायक रहनेछन् ।

वैशाख ५ गतेदेखि डिजिटल आवेदन खुला गरिएको प्रतियोगितामा १२ वटा ब्यान्ड सहभागी भएका थिए । असार १५ गते सम्पन्न फिजिकल अडिसनपछि पाँच उत्कृष्ट ब्यान्ड फाइनल चरणमा पुगेका कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाले जानकारी दिए ।

अमृत स्टोरको प्रस्तुतिमा तथा एनएसएस इभेन्ट्सको व्यवस्थापनमा आयोजना भइरहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछन् । दोस्रो हुने ब्यान्डले ३० हजार रुपैयाँ र तेस्रो हुने ब्यान्डले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विजेता टोलीहरूले विभिन्न ब्रान्डका गितार तथा पोर्टफोलियो सुटको अवसरसमेत पाउने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares