मुख्य समाचार

ज्ञानुराम प्रसाईँको स्मृतिमा बरपिपल रोपण, ‘स्मृति ग्रन्थ’ पनि प्रकाशनको तयारी

ज्ञानुराम प्रसाईँको स्मृतिमा बरपिपल रोपण, ‘स्मृति ग्रन्थ’ पनि प्रकाशनको तयारी


बिर्तामोड । राजनीतिक तथा सामाजिक व्यक्तित्व स्वर्गीय ज्ञानुराम प्रसाईँको पाँचौँ स्मृति दिवसको अवसरमा ज्ञानुराम प्रसाईं स्मृति प्रतिष्ठानले अर्जुनधारा–९ स्थित नमुना सामुदायिक वन क्षेत्रमा बर र पिपलका बिरुवा रोप्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

प्रतिष्ठानले वृक्षारोपणसँगै श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो । कार्यक्रममा वक्ताहरूले प्रसाईँले राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणका क्षेत्रमा पु¥याएको योगदान आज पनि समाजका लागि प्रेरणाको स्रोत रहेको बताए ।
उनीहरूले इमानदार, जुझारु र जनमुखी नेतृत्वका रूपमा प्रसाईँको योगदान दीर्घकालसम्म स्मरणीय रहने धारणा राखे ।
कार्यक्रममा राजनीतिक अगुवा नरेश खरेलले ज्ञानुराम प्रसाईँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा पु¥याएको योगदान समाजले कहिल्यै बिर्सन नसक्ने बताए । उनले त्यस्ता व्यक्तित्वको स्मृतिलाई वृक्षारोपणजस्ता रचनात्मक अभियानमार्फत जगेर्ना गर्नु अनुकरणीय कार्य भएको उल्लेख गरे ।

प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईँले आफ्ना दिवङ्गत पतिको स्मृतिलाई समाजसेवासँग जोड्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवारका तर्फबाट पुष्प प्रसाईँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानका सचिव सुब्रत न्यौपानेका अनुसार स्मृति दिवसका अवसरमा प्रतिष्ठानले हरेक वर्ष सामाजिक उत्तरदायित्वसँग जोडिएका रचनात्मक तथा परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसअघि अदुवा खोला करिडोर क्षेत्रमा वृक्षारोपण, रक्तदानलगायतका कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानले अब ‘ज्ञानुराम प्रसाईँ स्मृति ग्रन्थ’ प्रकाशनको अन्तिम तयारीसमेत गरिरहेको छ ।

स्मृति दिवसलाई औपचारिक श्रद्धाञ्जलिमा मात्र सीमित नराखी वातावरण संरक्षण, सामाजिक सेवाका गतिविधि र ज्ञानुराम प्रसाईँको योगदानलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ प्रतिष्ठानले आफ्नो अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares