बाह्रदशी

जनविकास माविद्वारा जग्गादाता तथा संस्थापकलाई सम्मान

जनविकास माविद्वारा जग्गादाता तथा संस्थापकलाई सम्मान


राजगढ । झापाको बाह्रदशी – ४ मा रहेको जनविकास माविले पहिलोपटक जग्गादाता तथा संस्थापकलाई सम्मान गरेको छ । वि.स. २०११ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

विद्यालय व्यावस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महताव आलम रहनुभएको थियो ।

बिहीबार विद्यालयको प्रांगणमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक शिव पोख्रेलले २०८० सालको एसईई नतिजामा निल खाएको विद्यालयले शैक्षिक गुणस्तर क्रमशः सुधार गर्दै २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत पास गराउन सफल भएको बताए । आगामी वर्ष ५६ प्रतिशत पास गराउने लक्ष्य रहेको उनको भनाई थियो । विद्यालयमा हाल ५५६ विद्यार्थी अध्ययन रहेका छन् ।

वडा नम्बर ४ को एकमात्र सामुदायिक विद्यालय रहेको विद्यायलमा करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायको रहेको बताउँदै प्रधानाध्यापक पोख्रेलले ५ वर्षभित्र पालिका कै उत्कृष्ट विद्यालय बनाउने महत्वकांक्षी लक्ष्य राखेको र प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने चाहना रहेको बताउनुभयो ।

कार्यक्रममा जग्गादाता र संस्थापकहरूलाई मरणोप्रान्त सम्मान गर्दै उहाँहरूका परिवारलाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाइएको थियो ।

मरणोप्रान्त सम्मानित हुने जग्गादाताहरूमा क्रमशः बुल्ला मिया, लक्ष्मीदेवी गणेश, लिला गणेश, काली प्रसाद गणेश र संस्थापक प्रधानाध्यापक प्रेमानन्द गोस्वामी, त्यस्तै जग्गादाताहरू रेनुका देवी गनगाई र ठण्डाकुमारी गणेशलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गत एसईई र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । एसईईमा उत्कृष्ट नतिजा ल्याउने आफ्रिम निसा र कक्षा ८ बाट उत्कृष्ट नतिजा ल्याउने जानकी शर्मालाई नगत सहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा जग्गा दाता तथा संस्थापकको नामावली लेखिएको शिलालेख अनावरण गरी उहाँहरूको तस्वीर समेत विद्यालयमा राखिएको छ । साथै, कार्यक्रममा मुस्लिम समुदायका छात्राहरूले आफ्नो मौलिक भेषमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरूले २०११ सालमा स्थापना भएको विद्यालयले हालसम्म गर्न नसकेको यस्तो कार्यक्रम पहिलोपटक गरेकामा प्रधानाध्यापक पोख्रेलको प्रसंशा गर्दै जग्गाको अभिलेखिकरण गरेर विद्यालयको कुल जग्गा यकिन गरि दाताहरूको पुर्ण पहिचान गर्न सुझाव दिए ।

साथै हालै बाह्रदशी गाउँपालिकाले गरेको नयाँ प्रधानाध्यापक नियुक्तिको कारण प्रधानाध्यापक पोख्रेल अन्यत्रै जाने अवस्था आएकोले काजमा भएपनि सोही विद्यालयमा राखिदिन गाउँपालिका समक्ष अपिल गरिएको छ ।
शिक्षिका धनमाया नेपालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक टीका गणेशले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

27
Shares